एक महिना देखि अवरुद्ध मार्तडी-कोल्टी सडक खण्ड अझै खुलेन
बाजुरा । बाजुराको मार्तडी कोल्टी सडक खण्ड अवरुद्ध भएको एक महिना बितिसक्दा समेत खुल्न सकेको छैन ।

असार दोस्रो हप्तादेखि अवरुद्ध भएको सडक खण्ड हालसम्म पनि खुल्न नसक्दा स्थानीयलाई आवतजावत गर्न र दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै सास्ती बेहोर्नु परेको छ।
सदरमुकाम मार्तडीबाट जिल्लाको पूर्वीउत्तरी भेग जोड्ने सडक खण्ड बर्सात सुरु भएसँगै अवरुद्ध भएको हो । मार्तडी–कोल्टी सडक खण्डका विभिन्न स्थानमा पहिरो तथा खोलामा पानीको बहाव बढेसँगै सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी कार्यालय बाजुराले जनाएको छ। सडक खण्ड हरेक वर्षको बर्सातमा करिब ४ महिना पूर्ण रूपमा अवरुद्ध हुँदै आएको छ । विगतका वर्षमा पनि असार लाग्ने बित्तिकै अवरुद्ध हुने गरेको मार्तडी कोल्टी सडक खण्ड असोज मसान्तमा मात्रै सुचारु भएको थियो।

जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार अहिले सडक खण्डको बडीमालिका-७ को जिल्ली, रजातोली र ढम्कने भासुपातलमा पहिरो खसेपछि पूर्ण रूपमा अवरुद्ध अवस्थामा छ । त्यस्तै बाउली, रजातोली, दानसाँघु लगायतका खोलामा पुल नहुँदा पनि थप समस्या भएको छ । सडक अवरुद्ध हुँदा यात्रुहरूले कतै गाडीमा त कतै पैदल गरेर कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ भने सामान ढुवानीमा समेत समस्या भएको स्थानीयको गुनासो छ।प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याका अनुसार तत्काल सडक खण्ड सुचारु गर्न सम्बन्धित निकायलाई पटक पटक ताकेता गरिएको भए पनि हाल सम्म सडक सुचारुका लागि कुनै काम भएको छैन।
अवरुद्ध सडक खण्डको पहिरो हटाएर सडक सुचारु गर्न बडीमालिका नगरपालिका र पूर्वाधार विकास कार्यालयबिच सम्झौता भएको थियो । उक्त सम्झौतामा नगरपालिकाको डोजरले सडकको पहिरो हटाउने र बजेट सम्बन्धित निकाय सडक पूर्वाधार कार्यालयले भुक्तानी गर्ने भनिएको भए पनि त्यो अहिलेसम्म कार्यान्वयन नभएको प्रमुख जिल्ला अधिकारी पाध्याको भनाई छ ।
प्रतिक्रिया राख्नुहोस्