तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुर अस्पतालमा डायलिसिस सेवा सुरु

एकै दिन ३६ जनासम्म बिरामीलाई डायलिसिस सेवा प्रवाह गर्न सकिने

भक्तपुर । भक्तपुरको दुधपाटीमा रहेको भक्तपुर अस्पतालमा मिर्गौला रोगको उपचारका लागि डायलिसिस सेवाको सुरु भएको छ ।

आज अस्पतालमा आयोजित एक कार्यक्रमकाबिच बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले उक्त सेवाको शुभारम्भको उद्घाटन गर्नुभएको हो । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमा भक्तपुर प्रादेशिक अस्पतालमा ५ बेडको डायलिसिस सेवाको शुभारम्भ भएको छ ।

कार्यक्रममा बोल्दै मन्त्री थापामगरले मिर्गौलाले काम नगर्ने बिरामीका लागि प्रभावकारी ५ मेसिन बागमती प्रदेश सरकारले भक्तपुर अस्पताललाई उपलब्ध गराएको बताउनुभयो । मन्त्री थापा मगरले बागमती प्रदेश अन्तर्गतका १३ अस्पतालमध्ये ११ अस्पतालमा डायलिसिस सेवा सुरु भैसकेको जानकारी दिनुभयो । स्वास्थ्य मन्त्री थापाले मन्त्रालयले निकट भविष्यमै ‘बागमती डिजिटल हेल्थ’ कार्यक्रम सुरु गर्न लागेको जानकारी दिनुभयो ।

कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले न्यूनतम सेवा मापदण्डमा आधारित मूल्याङ्कन गर्दा भक्तपुर अस्पताल बागमती प्रदेशकै सर्वोत्कृष्ट अस्पताल घोषित भइसकेको र यो प्रगति अन्य अस्पतालका लागि सिकाइको विषय बनेको बताउनुभयो ।

अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टले एउटा मेशिनलाई आकस्मिक सेवाका लागि राखी बाँकी ४ मेशिनबाट दैनिक ३ सिफ्ट सञ्चालन गरी एकै दिन ३६ जनासम्म मिर्गौला फेल भएका बिरामीलाई डायलिसिस सेवा प्रवाह गर्न सकिने बताउनुभयो ।

भक्तपुर अस्पतालकै परिसर भित्र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भएतापनि यसले मिर्गौला रोगीको चाप धान्न सकेको छैन । प्रत्यारोपण केन्द्रमा डायलिसिस समय नपाएपछि दैनिक दर्जनौँ बिरामी निजी क्लिनिकमा डायलिसिस गराउन बाध्य छन् ।

निजीमा एक पटक डायलिसिस गरेको सामान्य शुल्क: रु २ हजार ५ सयदेखि ५ हजार ५ सय सम्म पर्ने गर्दछ । महिनामा औसत ८ देखि १२ पटकसम्म डायलिसिस गरिनुपर्ने भएकाले निजीमा नियमित उपचार गराउँदा महँगो पर्दछ । वीर अस्पताल पछिको देशकै दोस्रो जेठो यो अस्पताल विगतमा रिफर सेन्टरको रूपमा सीमित रहेको भए पनि हाल प्रगति गरिरहेको छ ।

विगतमा सङ्घ अन्तर्गत रहेको र हाल बागमती प्रदेश सरकार मातहत सञ्चालित अस्पतालले आइसियु, एनआइसियु, एचडियु सहित अत्याधुनिक शल्यक्रिया सेवा समेत प्रदान गर्दै आएको छ । 

अस्पतालमा डायलिसिस सेवा विपन्न वर्गका लागि निःशुल्क हुने बागमती प्रदेश सभाका पूर्व सदस्य समेत रहेका अस्पताल विकास समितिका अध्यक्ष शशीजंग थापाले बताउनुभयो ।

गत जेठदेखि रु ८ करोड लागतमा अस्पतालले सिटी स्क्यान सेवा समेत सञ्चालन गर्न सफल भएको अध्यक्ष थापाले बताउनुभयो ।अस्पतालमा ल्याब रिपोर्ट पनि क्युआर कोडमार्फत उपलब्ध हुने गरेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button