उद्योगको रसायनयुक्त पानी मिसिएको कुलोमा डुबेर बालकको मृत्यु
बारा । जीतपुरसिमरा उपमहानगरपालिका–५ स्थित सिरसिया कुलो (बर्खि बाँध) मा डुबेर १३ वर्षीय सन्दीप मुखियाको मृत्यु भएको घटनाले स्थानीयवासी आक्रोशित भएका छन् ।

गणपति घ्यू, नन्दन घ्यू तथा अशोक स्टिल उद्योगबाट प्रशोधन नगरी बग्ने रसायनयुक्त प्रदूषित पानीका कारण बालकको ज्यान गएको शल्य परीक्षणबाट पुष्टि भएको हो । घटना भएको भोलिपल्ट शनिवार मृतकका आमा अन्जु मुखियासहित स्थानीयले जीतपुरसिमरा–३ स्थित गणपति र नन्दन उद्योगको गेट अगाडि बालकको शव तेर्साएर प्रदर्शन गरेका थिए ।
इलाका प्रहरी कार्यालय सिमराका डिएसपी वेदप्रकाश जोशीका अनुसार पीडित परिवार, स्थानीय अगुवा, जनप्रतिनिधि र उद्योग प्रशासनबिच भएको छलफलमा दुवै उद्योग गणपति र नन्दनले क्षतिपूर्ति स्वरूप मृतक बालकका परिवारलाई ३ लाखका दरले ६ लाख उपलब्ध गराउने सहमति भएको छ । त्यस्तै मृतक बालककी आमालाई स्थायित्वका लागि स्थानीय विद्यालयमा रोजगारी दिने विषयमा पनि सहमति भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाले प्रदूषित पानी बग्ने स्थानमा शनिवार नै डोजर लगाएर ह्युमपाइप हटाउँदै खाल्डो पुर्ने काम अघि बढाएको छ । यसअघि पनि नगरपालिकाले उद्योगको पर्खाल भत्काएर ह्युमपाइप हटाएको भए पनि उद्योगले पुनः जडान गरेर रसायनयुक्त पानी बगाइरहेको स्थानीयको आरोप छ ।
उपप्रमुख भोलाप्रसाद अधिकारीले फोहोर वा रसायनयुक्त पानी नफालिएको उद्योग पक्षको दाबीप्रति असहमति जनाउँदै उद्योगको निकासबाट निस्कने पानीको दृश्यले नै त्यो दाबीको खण्डन गर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्