तपाईँ सुन्दै हुनुहुन्छः

भेरी अस्पतालमा बिरामीको चाँप बढ्दै

नेपालगञ्ज। भेरी अस्पताल नेपालगञ्जमा  बिरामीको चाप बर्सेनि बढ्दै गएको तथ्याङ्क सार्वजनिक गरिएको छ । तर, बजेट भने घट्दै गएको छ । आर्थिक वर्ष २०८१/०८२ मा मात्रै २ लाख बढीले ओपिडी सेवा लिएका छन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। निराजन सुवेदीले बर्सेनि अस्पतालमा बिरामीको चाप बढ्दै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो–‘आर्थिक वर्ष २०८१/०८२ मा २ लाख २१ हजार ५०२ जनाले ओपिडी सेवा लिएका छन् । यो अघिल्लो आर्थिक वर्ष २०८०/०८१ भन्दा २२ हजार २०३ ले बढी हो । आर्थिक वर्ष २०८०/०८१ मा १ लाख ९९ हजार १७२ जनाले ओपिडी सेवा लिएका थिए भने आर्थिक वर्ष २०७९/०८० मा १ लाख ६५ हजार ६८३ जनाले ओपिडी सेवा लिएका थिए ।

‘बर्सेनि बिरामीको चाप बढ्दै गए पनि सङ्घीय सरकारबाट प्राप्त हुने बजेट घट्दै गएको छ,’ अस्पतालको चुनौतीबारे उहाँले अगाडि भन्नुभयो–‘यसले सेवाग्राहीलाई दिनुपर्ने सेवा प्रवाहमै असर गरिरहेको छ ।’ आर्थिक वर्ष २०७९/०८० मा सङ्घीय सरकारले भेरी अस्पताललाई १९ करोड बजेट विनियोजन गरेको थियो भने २०८०/०८१ मा १३ करोड कटौती गर्दै केवल ६ करोड मात्रै बजेट पठाएको थियो । आर्थिक वर्षमा ०८१/०८२ मा त झन् ५ करोडमा सीमित बनेको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुवेदीले बताउनुभयो । 

अस्पतालले पछिल्लो एक वर्षमा ३ हजार ७ सय ८८ जनाको शल्यक्रिया गरेको जनाएको छ । मेजर शल्यक्रिया मात्रै २ हजार ८ सय ६० वटा गरिएका छन् भने माइनर शल्यक्रिया ५ सय ८६ र मध्यम शल्यक्रिया ३ सय ४२ वटा गरिएका छन् । भेरी अस्पतालले सोमबार मात्रै आफ्नो १३५औँ वार्षिकोत्सव मनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button