तपाईँ सुन्दै हुनुहुन्छः

राप्ती नदी तटबन्धको ७१ प्रतिशत काम सम्पन्न 

दाङ । साढे दुई वर्षको अवधिमा राप्ती नदी तटबन्धको ७१ प्रतिशत काम सकिएको छ ।

राप्ती नदीअन्तर्गत लमही र गढवा क्षेत्रमा करिब ११ किलोमिटर तटबन्धको लक्षमध्ये ८ किलोमिटर (७१ प्रतिशत) काम सम्पन्न भएको छ । २०८२ असार मसान्तभित्र तटबन्धको काम सक्ने गरी २०७९ पुसमा कालिका कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता भएको थियो ।

जनता तटबन्ध आयोजना प्रमुख डा. नारायण सुवेदीका अनुसार तटबन्ध कार्यक्रमअन्तर्गत राप्ती नदीअन्तर्गत दाङमा ६ वटा प्याकेज र बाँकेमा दुई वटा प्याकेजमा काम भइरहेको छ । दाङअन्तर्गत लमही नगरपालिका–४ को बुट्कहवामा एक हजार ५० मिटर, गढवा गाउँपालिका–२ जेठान गाउँमा एक हजार सात सय ५० मिटर, गढवा गाउँपालिका–५ को तकियापुरमा दुई हजार मिटर, गढवा गाउँपालिका–४ हात्तिछाप कुलोमा दुई हजार पाँच सय मिटर, गढवा गाउँपालिका–१ को कान्छी गाउँमा सात सय ४१ मिटर तटबन्ध गर्ने काम भएको छ । 

लमही नगरपालिका–६ को मध्य नगरमा तटबन्धको काम गर्नुपर्ने भए पनि स्थानीयका बिचमा कुरा नमिल्दा तटबन्धको काम गर्न नसकिएको बताएका छन् ।

मध्य नगरमा डिपिआर अनुसार तटबन्धको काम गर्दा जनताको जग्गा राप्ती नदीमा पर्ने भएको भन्दै स्थानीयले विरोध गर्दै नदीको बिच भागबाटै तटबन्ध गर्नुपर्ने बताएपछि काम हुन नसकेको कार्यालय प्रमुख सुवेदीले बताउनु भयो  ।

वर्षाको समयमा राप्ती नदीबाट हुने डुबान र कटानबाट सुरक्षित गर्ने गरी भइरहेको तटबन्ध अन्तर्गत हालसम्म राप्ती नदीमा २३.१४ किलोमिटर तटबन्ध गरिएको छ । २३.१४ किलोमिटर तटबन्धको काम हुँदा देउखुरीको लमही नगरपालिका र गढवा गाउँपालिकाअन्तर्गत दुई सय ७२ हेक्टर जग्गा नदी उकास क्षेत्रका रूपमा विकास भएको जनताको तटबन्ध कार्यालय प्रमुख डा।सुवेदीले जानकारी दिनु भयो ।

उहाका अनुसार २०७३/०७४ मा गौरी पार्वती कोशी एन्ड न्यौपाने मृत्त सन्जिवनी जेभीसँग ठेक्का सम्झौता भएको काम समेत अहिले अघि बढेको छ । गढवा गाउँपालिका–१ को जेठानगाउँ र लमही नगरपालिका–४ बलरामपुरमा क्रमशः तटबन्ध गर्ने गरी ११ करोड र १५ करोडमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भए पनि निर्माण कम्पनीले काम नगरेर तटबन्ध अलपत्र पार्ने काम गरेको समयमा आफू कार्यालय प्रमुखका रूपमा आएपछि निर्माण व्यवसायीलाई काममा लगाएको उहाँले   बताउनुभयो । साथै काम तीव्र गतिमा भइरहेको कार्यालय प्रमुख सुवेदीले बताउनुभयो ।

कार्यालय प्रमुख सुवेदीका अनुसार बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कचनापुरमा एक हजार तीन सय मिटर, राप्ती सोनारीकै वडा नं-६ ललही घाटमा एक हजार दुई सय मिटर तटबन्ध गर्ने काम सकिएको छ ।

तटबन्धको काम गर्दा आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारको २३ करोड २५ लाखमध्ये १९ करोड ४८ लाख र एसियाली विकास बैङ्क (एडिबी)मार्फत ७२ करोड ३८ लाख  बजेट प्राप्त भएकोमा ४५ करोड पाँच लाख खर्च भएको कार्यालयले जनाएको छ ।

जनताको तटबन्ध कार्यालय लमहीले दाङ र बाँके कार्यक्षेत्र बनाएर राप्ती नदीसँगै राप्ती र सहायक खोलाहरूमा तटबन्धको काम भइरहेको छ । साथै कार्यालय चालु आर्थिक वर्षदेखि सल्यानको सारदा नदी कटान क्षेत्रमा पनि तटबन्धको काम गर्ने भएको कार्यालय प्रमुख सुवेदीले बताउनुभयो ।

तटबन्धका लागि २०८२/०८३ मा पश्चिम राप्ती नदी तटबन्धका लागि तीन करोड, बबई नदीमा तटबन्धका लागि तीन करोड, सल्यानको सारदा नदी कटान नियन्त्रणका लागि तीन करोड र विपत् व्यवस्थापनका लागि तीन करोड गरी जम्मा १२ करोड बजेट आइसकेको कार्यालय प्रमुख सुवेदीले जानकारी दिनु भयो ।

त्यसै गरी बबई नदी कटान क्षेत्रमा तटबन्ध निर्माण गर्न अमन इन्टरनेसनल ट्रेड लिन्क प्रालीले २०८० जेठ २२ गते सम्झौता गरेको थियो ।

ठेक्का सम्झौता अनुसार बबई नदीअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१४ डबकपुर र चोरबाँकीमा तटबन्धको करिव ९० प्रतिशत काम सकिएको बताउनु भयो  । चालु आर्थिक वर्षको फागुनसम्म काम सक्ने गरी सम्झौता भएको र बाँकीको प्रगति सन्तोषजनक रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button