तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले साउन १५ गते विश्वासको मत लिनुहुने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले साउन १५ गते विश्वासको मत लिनुहुने भएको छ ।  नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिने हुनुभएको हो । 

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । 

मुख्यमन्त्री शाहले तत्कालीन उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई पदमुक्त गरेपछि नागरिक उन्मुक्तिले असार २० गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । मुख्यमन्त्री शाहले विश्वासको मत लिने प्रयोजनका लागि भनेर प्रदेश सभा सचिवालयलाई पत्र पठाउनुभएको मुख्यमन्त्रीका स्वकीय सचिव रामबहादुर विष्टले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश सभाको बैठक साउन १५ गते बेलुकी ५ बजे बस्ने कार्यतालिका रहेको छ । 

यसैबिच नेपाली काँग्रेस प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्रीले लिने विश्वासको मतका पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । यस्तै साउन १५ गते बस्ने प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित हुन सबै प्रदेश सभा सदस्यलाई निर्देशन गरिएको प्रमुख सचेतक विक्रमसिंह धामीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button