महिला सांसद समन्वय समिति गठनका लागि आग्रह

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत महिला सांसद समन्वय समिति गठनका लागि आवश्यक सहयोग र समन्वय गरिदिन विभिन्न राजनीतिक दलका महिला सांसदले परराष्ट्र मन्त्री डा आरजु राणा देउवासमक्ष आग्रह गर्नुभएको छ ।
प्रमुख राजनीतिक दलका सचेतकसहितका महिला सांसदहरूले आज मन्त्री राणालाई भेटी सो समिति स्थापनाका लागि सरकारमा रहेर समन्वय एवम् सहयोग गर्न आग्रह गर्नुभएको हो ।
प्रतिनिधिसभा नियमावलीमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने गरी महिलाको एक समितिका रूपमा महिला सांसद समन्वय समिति रहने व्यवस्था भए पनि प्रतिनिधिसभाको आधा कार्यकाल पूरा भइसक्दा पनि सो समिति गठन हुन नसकेकाले सरकार र संसद्लाई दबाब दिन उहाँहरूले सो आग्रह गर्नुभएको हो ।
सो भेट तथा अन्तरक्रियामा प्रतिनिधिसभामा नेपाली काँग्रेसकी सचेतक सुशिला थिङ, नेकपा एमालेकी सुनिता बराल, नेकपा माओवादी केन्द्रकी रुपा सोशी चौधरी, राप्रपाकी बिना लामा, रास्वपाकी निशा डाँगीसहित सांसद एवम् पूर्व मन्त्री रेखा शर्मा, सीता गुरुङ, विद्या भट्टराईलगायत अन्य सांसद पनि हुनुहुन्थ्यो ।
सो भेटघाटमा मन्त्री राणाले विगतमा पनि संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका महिला सांसद एकजुट भएर नै महिला अधिकारका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको स्मरण गर्दै आगामी दिनमा सो संस्कारलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्था अहिलेसम्म कार्यान्वयनमा नआउनु दुःखद रहेको बताउँदै महिला समन्वय समिति गठनका लागि संसद्मा सबै दलका महिला सांसदको ऐक्यबद्धता आवश्यक रहेको बताउनुभयो । सो समिति गठनका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्