तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा ‘घर बिमा’ कार्यक्रम सुरु

सुर्खेत । विपद्को उच्च जोखिममा रहेको कर्णाली प्रदेशमा ‘घर बिमा’ कार्यक्रम सुरु भएको छ । विपद्बाट घर क्षति भएकालाई राहत दिन कर्णाली प्रदेश सरकारले ‘घर बिमा’ कार्यक्रम सञ्चालनमा ल्याएको हो । 

प्रदेशभित्र स्थायी बसोबास भएका नागरिकको निजी आवासीय घरको प्राकृतिक विपद् लगायत भवितव्यको कारणबाट हुने क्षति, नोक्सानीको आर्थिक सुरक्षाको प्रत्याभूत गर्न ‘घर बिमा’ कार्यक्रम सुरु गरिएको प्रदेश सरकारले जनाएको छ । 

कर्णाली प्रदेश मुख्यमन्त्री यामलाल कँडेलले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भएको सरोकारवालाको उपस्थितिमा घर बिमा कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

पहिलो चरणमा घरको मूल्याङ्कन गरी स्थानीय तहको सिफारिससहित विवरण पठाएका १५ वटा स्थानीय तहका १६ हजार ७२ घरको घर बिमा गरी पोलिसी जारी गरिएको छ । बिमा पोलिसी जारी भएसँगै प्रतिघर अधिकतम २० लाखसम्म प्रदेश सरकारले प्रिमियम व्यहोर्ने व्यवस्था गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव उत्तम गौतमले बताउनुभयो । उहाँका अनुसार सो भन्दा माथि भए स्वयम् घरधनीले व्यहोर्नुपर्ने छ ।

प्रिमियम बापत घरको मूल्याङ्कन अनुसार कम्तीमा १ सयदेखि अधिकतम १ हजार १ सय २५ रुपैयाँसम्म प्रिमियम भुक्तानी भएको उहाँको भनाइ छ । घर बिमा अन्तर्गत गत आर्थिक वर्ष २०८१ /०८२ मा ४ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा ९८ लाख २४ हजार ८ सय ९३ खर्च भएको बताइएको छ । स्थानीय तहमार्फत घर बिमा कार्यक्रम कार्यान्वयन गरिएको र क्रमशः यो कार्यक्रमलाई स्थानीय तहलाई नै हस्तान्तरण गरिने प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले बताउनुभयो । 

उहाँले चालु आर्थिक वर्ष २०८२/०८३ मा घर बिमा कार्यक्रम तर्फ ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयो । 

पहिलो चरणमा सल्यानको शारदा नगरपालिका, दैलेखको ठाँटीकाँध गाउँपालिका, सुर्खेतका गुर्भाकोट नगरपालिका, लेकबेशी नगरपालिका र बराह ताल गाउँपालिका, रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका र सानीभेरी गाउँपालिका, कालिकोटका तिलागुफा नगरपालिका, पलाता गाउँपालिका र महाबै गाउँपालिका, डोल्पाको जगदुल्ला गाउँपालिका, जुम्लाको सिजा गाउँपालिका, हुम्लाको खार्पुनाथ गाउँपालिका र जाजरकोटको बारेकोट गाउँपालिका रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button