प्रतिबन्धलाई अटेर गरेपछि पाँच खानेपानी कम्पनीमा तालाबन्दी
भक्तपुर । चाँगुनारायण नगरपालिकाले झौखेल क्षेत्रमा सञ्चालनमा रहेका पाँच खानेपानी उद्योग माथि प्रतिबन्ध लगाए पनि बिक्री गरेको पाइएपछि तालाबन्दी गरेको छ ।

बिक्री वितरण नरोकिएपछि नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक रमेश बुढाथोकीको नेतृत्वमा प्रशासन र उपभोक्ता मञ्च तथा उद्योग वाणिज्य सङ्घले संयुक्त रूपमा अनुगमन गरी उद्योगहरूमा तालाबन्दी गरेको हो ।
अनुगमन समितिको बैठकले हिजोदेखि पानी बिक्री वितरण गर्न नपाउने गरी प्रतिबन्ध लगाएर कारबाही प्रक्रिया अगाडि बढाएको थियो । बन्द उद्योग भित्रबाट पानी बिक्री भएको पाइएपछि पुनः अनुगमन तीव्र बनाएको हो ।
झौखेल ३ मा सञ्चालनमा रहेको खानेपानी उद्योगहरूले बिक्री वितरण गर्दै आएको खानेपानीमा मानवीय स्वास्थ्यका लागि हानिकारक ईकोली, कोलिफार्म, एमोनिया लगायतको तत्त्वहरू पाइएपछि प्रतिबन्ध लगाएको हो ।
अनुगमनका क्रममा भक्तपुर नेचुरल वाटर प्रालि बाहेकका ५ वटा कम्पनीलाई पानी बिक्री वितरणमा रोक लगाएको हो ।
अनुगमन टोलीले आज पनि झौखेलका पाँच वटा थप उद्योगको अनुगमन गरी पानीको नमुना सङ्कलन गरी परीक्षणका लागि लगिएको जनाएको छ ।
नगरपालिकाले झौखेलस्थित जय छुमा गणेश खानेपानी उद्योग, ओके मिनिरल वाटर प्रा.लि, झौखेल उच्च वेभरेज प्रा.लि, एसएन टप वेभरेज प्रा.लि, एक्वाराज पानी, , भक्तपुर नेचुरलवाटर प्रा.लि र कर्णाली मिनरल वाटर प्रा.लिबाट उत्पादित पानी उद्योगमा अनुगमन गरेको थियो ।
भक्तपुर नेचुरल वाटर प्रा.लि मा आवश्यकता भन्दा बढी एमोनिया भेटिएकाले तत्काललाई प्रतिबन्ध नलगाए पनि सचेत भने गराइएको उपप्रमुख बुढाथोकीले जानकारी दिनुभयो ।
अनुगमन समितिले पानी उद्योगहरूको उत्पादन प्रक्रिया, सरसफाइको अवस्था, दर्ता तथा नवीकरणको अवस्था लगायतको बारेमा स्थलगत निरीक्षण गरेको थियो ।
झौखेलमा मात्रै ५० वटा भन्दा बढी खानेपानी उत्पादन गर्ने उद्योगहरु सञ्चालनमा छन् ।
प्रतिक्रिया राख्नुहोस्