पर्सामा पानी सङ्कट समाधानका लागि टोल टोलमा खानेपानीको ट्याङ्की राखिने
वीरगंज । खानेपानी तथा सिँचाई सम्बन्धी समन्वय र सहजीकरण समिति पर्साको आज सम्पन्न बैठकले वीरगन्ज महानगरसहित पर्सा जिल्लामा विद्यमान पानीको सङ्कट समाधानका लागि विभिन्न ९ बुँदे निर्णय गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको विशेष उपस्थिति तथा जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफको अध्यक्षतामा खानेपानी तथा सिँचाई सम्बन्धी समन्वय र सहजीकरण समिति पर्साको बैठकले हालसम्म खानेपानी संस्थान लगायत अन्य निकायबाट जडान भएको धारा तथा डीप बोरिङ्गको लगत सङ्कलन गर्ने निर्णय गरेको छ ।
यस्तै खानेपानी अभाव रहेको क्षेत्रको पहिचान गर्ने, आवश्यकता पहिचान भएको क्षेत्रमा पानी आपूर्तिको अवधारणा पत्र तयार गर्ने,वास्तविक रूपमा खानेपानी अभाव भएका क्षेत्रहरूको पहिचान गरी युनिसेफ नेपाल र जिल्ला समन्वय समितिले वीरगन्ज महानगरपालिकासँगको समन्वयमा न्यूनतम ५ हजार लिटर क्षमताका आवश्यक सङ्ख्यामा ट्याङ्की ७ दिनभित्र जडान गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यसैगरी बैठकले चालू अवस्थामा रहेका डीप बोरिङमा विद्युत् व्यवस्थाका लागि सम्बन्धित वडाध्यक्षको समन्वयमा उपभोक्ता समिति गठन गर्ने र विद्युत् मिटर जडान गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।
खानेपानीको वैकल्पिक सुविधा नभएको ठाउँमा डिप बोरिङ जडान गर्नु परेमा स्थानीय विपद् व्यवस्थापन समितिको सिफारिसमा बोरिङ जडान गरी त्यसको जानकारी जिल्ला विपद् व्यवस्थापन समितिलाई समेत गराउने,खानेपानी र सिँचाई विद्युत् आपूर्तिको लागि निवेदन प्राप्त भएको २४ घण्टा भित्र नेपाल विद्युत् प्राधिकरणले विधुत मिटर जडान गर्ने, खानेपानीको किफायती प्रयोग र खानेपानी स्वच्छताका लागि अभियान सञ्चालन गर्ने र यो कार्यक्रमको समन्वय युनिसेफ नेपालले गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिनुभयो ।
यसैगरी गण्डक नहरको सरसफाईको कार्य तीव्रताको साथ अगाडी बढाउने र आवश्यक स्थानमा मर्मतको कार्य आइतबारदेखि नै सुचारु गर्ने निर्णय पनि भएको उहाँले बताउनुभयो । बैठकमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मी, नारायणी सिँचाई व्यवस्थापन कार्यालय वीरगन्जका इन्जिनियर सुरेश साह, नेपाल खानेपानी संस्थान वीरगन्जका प्रमुख प्रवीण साह, नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख अवधेश दुबे, कृषि ज्ञान केन्द्र पर्साका प्रमुख रामजीवन ठाकुर, खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका मुकेश ठाकुर, जिल्ला समन्वय समिति पर्साका समन्वय अधिकारी विनय श्रीवास्तव, पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्ट लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्