तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा समिति बैठक ः मिडिया काउन्सिल विधेयकमा विज्ञहरूको सुझाव

काठमाडौँ । प्रतिनिधि सभाको  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले  मिडिया काउन्सिल विधेयमा विज्ञहरूसँग सुझाव लिएको छ । 

समितिको आजको बैठकमा  सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा. महेन्द्र विष्टले राष्ट्रिय सभाले मिडिया काउन्सिल विधेयकलाई आम सञ्चार परिषद् विधेयकका रूपमा संशोधन गरी पठाएकामा विधेयकको नाम मिडिया काउन्सिल नै राख्न सुझाव दिनुभयो । 

नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष समेत रहनुभएका अध्यक्ष विष्टले सो विधेयकले छापा माध्यमलाई जत्ति नै प्रसारण माध्यमलाई पनि प्राथमिकता दिनुपर्ने र मिडिया काउन्सिलमा प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट एक/एक जना सांसदहरू समेत पदाधिकारी रहने गरी विधेयक संशोधन गर्न सुझाव दिनुभयो । 

बैठकमा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा सुरेश आचार्यले मिडिया काउन्सिल पत्रकारिताका विषयवस्तुको अनुगमन गर्ने निकाय भएकाले बहुमत पत्रकार सदस्य रहने व्यवस्था नराख्न सुझाव दिनुभयो । 

त्यसैगरी वरिष्ठ पत्रकार तारानाथ दाहालले विधेयकलाई राष्ट्रिय सभाले उल्लेख सुधार गरेर पठाएको भए पनि पत्रकार र सञ्चार माध्यमको  स्पष्ट परिभाषित गरिनुपर्ने काउन्सिलको अध्यक्षमा पूर्व न्यायाधीश नियुक्त गरिनुपर्ने र २ जना सांसदसहित १५ जनाको पदाधिकारी रहने व्यवस्था गर्न सुझाव दिनुभयो । 

त्यसैगरी नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्षहरू शिव गाउने, गोविन्द आचार्य, त्रिभुवन विश्वविद्यालय पत्रकारिताका विज्ञहरू लगायतले मिडिया काउन्सिललाई सरकार अन्तरगत नभई संसद् अन्तरगत राखिनुपर्ने, नियन्त्रण नभई स्वनियमनमा लैजानुपर्ने र पूर्व न्यायाधीश मध्येबाट अध्यक्ष नियुक्त गरिनुपर्ने व्यवस्था गर्न सुझाव दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button