तपाईँ सुन्दै हुनुहुन्छः

‘रिफर गर्न आनन्द मान्ने प्रवृत्ति सुन्नमा आएको छ, आइन्दा सुन्न नपरोस्’

नवलपरासी पश्चिम् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज एक समारोहबिच पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको पृथ्वीचन्द्र जिल्ला अस्पतालको नवनिर्मित ५० शय्या भवनको उद्घाटन गर्नुभएको छ । 

नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले जिल्लावासीले अब जिल्लाबाटै सहज रूपमा सेवा लिन पाउने विश्वास व्यक्त गर्दै जटिल रोगका उपचार बाहेक अस्पतालमा आएका बिरा अधिकतम प्रयोग गर्न चिकित्सकहरूलाई निर्देशन समेत दिनुभयो ।

‘कता कता मैले सुनेको छु अस्पतालमा उपचार गर्न भन्दा बिरामीलाई बाहिर रिफर गर्न आनन्द मान्ने प्रवृत्तिको विकास भएको छ भन्ने सुन्नमा आएको छ,भोलीका दिनमा यो सुन्न नपरोस् । हरेक बिरामीलाई विशेषज्ञ सहितको सेवा यहीँ दिईयोस’ मुख्यमन्त्री आचार्यले भन्नुभयो ।

मुख्यमन्त्री आचार्यले किसानको समस्या समाधानमा अहिले बढी केन्द्रित हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले पानी नपर्दा अझै लुम्बिनी प्रदेशमा धान रोपाइ पूरा नभएको र रोपेको धान समेत सुक्दै गएकाले प्रदेश सरकारको आवश्यकताको आधारमा निर्णय गरेर सङ्घीय सरकारमा पठाउने समेत जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेश सरकारको १३ करोड ६६ लाख रुपियाँको लागतमा दुई तले सुविधा सम्पन्न भवन निर्माण भएको छ । आजबाट अस्पतालमा आँखाको विशेषज्ञ र मिर्गौला पीडित बिरामीका लागि हेमोडाइलासिस सेवा पनि सुरु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्मद नुरुल होदाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button