मोटरसाइकलमा डोको जोडेर तरकारी बेच्ने ‘धनराज’

तुलसीपुर (दाङ) । मोटरसाइकलको पछाडि जोडिएका दुई वटा डोको । त्यही मोटरसाइकल र डोकोबाट चलेको छ, दाङ तुलसीपुर उपमहानगरपालिका–४ माथिल्लो हलवारी निवासी धनराज बुढाथोकीको दैनिकी । उहाँले मोटरसाइकलमा जोडिएका डोकोमा तरकारी बोक्नुहुन्छ । गाउँ–गाउँ अनि बजारमा लिएर बेच्नुहुन्छ ।
आफैँले उत्पादन गरेको तरकारी विगत १० वर्षदेखि यसरी नै बजारमा बिक्री गर्दै आएको उहाँले बताउनुभयो । “मैले १० वर्ष भयो तरकारी खेती गरेको”, उहाँले भन्नुभयो, “यही तरकारी मोटरसाइकलको पछाडि जोडिएको डोकोमा लगेर बजार बिक्री गर्दै आएको छु, यसले नै घर खर्च धानेको छ ।”
हरेक दिन बिहान ५ बजे उठेर उहाँले काँक्रा र बोडी गाउँ गाउँमा लिएर बेच्नुहुन्छ । उहाँ तरकारी बिक्री गर्न खाद्रे, बनहरी, तल्लो ग्वारखोला, माथिल्लो ग्वारखोला, कपडादेवी, मोतिपुर, राजापुरसम्म पुग्नुहुन्छ । अहिले उहाँको दैनिकी यसरी नै बितिरहेको छ ।
अहिले दैनिक पाँच क्वीन्टल तरकारी र काक्रा बिक्री गर्ने गरेको उहाँको भनाइ छ । “विगतका वर्षमा दैनिक सात÷आठ क्वीन्टलसम्म बिक्री गर्थे”, उहाँले भन्नुभयो, “यसबर्ष त्यति बजार पाएको छैन, त्यही पाँच क्वीन्टलसम्म बिक्री गर्ने गरेको छु ।”
उहाँले बोडीलाई रु ५० किलोमा बिक्री गर्दै आउनुभएको छ, भने काँक्रा एक सय रुपैयाँमा साढे दुई केजी बिक्री गर्दै आउनुभएको छ । बोडी र काँक्राको सिजन असारदेखि साउनको अन्तिमसम्म रहन्छ । जसमा बोडी एक सिजनमा रु दुई लाखसम्मको कारोबार हुन्छ भने काँक्रा रु पाँच लाखसम्म कारोबार हुन्छ । यसमा खर्च कटाएर रु चारदेखि पाँच लाखसम्म एक सिजनमा आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।
अब बोडी र काक्राको सिजन सकिनै थालेको भन्दै टमाटरखेती गर्ने तयारी गरेको उहाँले बताउनुभयो । वैशाखमा रोपिएका काँक्राले असार र साउनमा आम्दानी दिने र साउनमा रोपिएको टमाटरले कात्तिकदेखि चैतसम्म आम्दानी दिने बताउनुभयो । यसरी वर्षमा दुई सिजनमा तरकारी खेती गरेर आम्दानी लिने गरेको उहाँले बताउनुभयो । रासस
प्रतिक्रिया राख्नुहोस्