तपाईँ सुन्दै हुनुहुन्छः

पुनर्निर्माण भएन सल्यान – जाजरकोट जोड्ने झोलुङ्गे पुल

सल्यान। सल्यान र जाजरकोट जिल्लालाई जोड्ने झोलुङ्गे पुल भासिएको चार वर्ष बितिसक्दा समेत अलपत्र परेको छ । भेरी नदीमा अवस्थित झोलुङ्गे पुल भासिएको चार वर्ष बितिसक्दा पनि मर्मत तथा पुनर्निर्माणको काम नहुँदा स्थानीयवासीहरू आवागमनमा ठुलो कठिनाइ भोग्न आइरहेका छन् । 

 बनगाड कुपिण्डे नगरपालिका–२ बाँमे, बाउनडाँडा, पारिल्ला, चैते, कुरिल्ले लगायत गाउँका झन्डै ३ सय परिवारहरू दैनिक रूपमा प्रभावित भएका हुन । तिन वर्ष अघि वर्षामा भेरी नदीको बहाव बढ्दा झोलुङ्गे पुलको पिलर सहित पुल भासिएको थियो ।  जसका कारण पुलको बिच भाग भेरी नदीको सतहमै झुन्डिएको छ । विकल्पको अभावमा जोखिम मोलेर स्थानीयहरू अहिले भासिएको पुल प्रयोग गर्न बाध्य छन् । स्थानीयवासीको अनुसार उक्त पुल भएर प्रमुख बजार सल्लीबजार तथा छेउको जाजरकोटको छेडाबजार जानुपर्ने बाध्यता छ ।

तर, भासिएको पुल जोखिमपूर्ण भएका कारण स्थानीय मात्र होइन, बस्तु ओसारपसारसमेत कठिन भएको स्थानीय गोपिलाल शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक उपभोग्य वस्तु तथा स्थानीयस्तरमा उत्पादन भएका कृषिजन्य सामग्री बजारसम्म पुर्‍याउन किसानहरूले सास्ती खेपिरहेका छन् । भासिएको पुल अहिले झनै जीर्ण भएको छ । अलिकति भेल बढ्नासाथ नदी पार गर्नै सकिँदैन, उहाँले भन्नु भयो ‘पुल भासिएको धेरै भयो, कसैले चासो दिएको छैन ।’

उक्त पुल २०७२ सालमा बीबीएलएल नामक संस्थाको सहयोगमा निर्माण गरिएको थियो । करिब १५७ मिटर लामो उक्त पुलले वर्षौँदेखि स्थानीय बासिन्दाको दैनिक यात्रा सहज बनाएको थियो । तर, भासिएपछि न त पालिकाले न त सम्बन्धित निकायले पुनः निर्माण वा मर्मततर्फ चासो देखाएको उहाँले बताउनु भयो  ।

पुल भासिएको विषयमा सम्बन्धित निकायलाई बारम्बार मर्मतका लागि जानकारी गराए पनि कसैले वास्ता नगरेको वनगाड कुपिण्डे नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष मान बहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार पुल मर्मतका लागि वडाको बजेटले नपुग्ने र प्रदेश र सङ्घमा कुरा राख्दा कसैले नसुनेको उहाँले बताउनु भयो । भासिएको पुलबाट स्थानीय वारपार गरिरहेको उहाँको भनाई छ ।  उहाँले भन्नु भयो ‘पुलको अवस्था देख्दा कहिले ठुलो दुर्घटना हुन सक्छ भन्ने डर छ । मैले धेरै पटक प्रदेश माननीय ज्यूहरूलाई कुरा राखे । तर कसैले वास्ता गर्नुभएन ।’ चार वर्षसम्म कुनै पहल नहुनु सरकारको उदासीनता र राज्यको कमजोर उपस्थिति देखिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button