तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीयता बलियो बनाउन कर्मचारीको महत्त्वपूर्ण भूमिका हुन्छ : मन्त्री न्यौपाने

दमौली (तनहुँ) । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सङ्घीयता बलियो बनाउन कर्मचारीको महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ । 

तनहुँको देवघाट गाउँपालिकाले आज आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा मन्त्री न्यौपानेले सङ्घीयता सुदृढ र बलियो बनाउन कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो । 

मन्त्री न्यौपानेले सङ्घीय निजामती ऐन चालु संसद् अधिवेशनमा पारित हुने बताउनुभयो । मन्त्री न्यौपानेले मन्त्रालयले कर्मचारी सरुवासम्बन्धी मापदण्ड बनाउँदै गरेको बताउँदै गुनासो सुनुवाइ संयन्त्र स्थापना गरिसकेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “निजामती ऐन आइसकेपछि धेरै समस्या समाधान हुनेछन् । त्यसलाई छिटो जारी गर्नुपर्छ भनेर सरकार त्यही ढङ्गबाट अगाडि बढेको छ ।”

मन्त्रालयका छ वटा महाशाखा र १९ वटा शाखामा भइरहेका समस्याको बारेमा आफूले जानकारी लिएको बताउँदै त्यसलाई क्रमशः समाधान गर्दै लगिने मन्त्री न्यौपानेले बताउनुभयो । तीन तहको सरकारबीच समन्वय र सहकार्यबाट मात्रै देश विकास सम्भव रहेको बताउँदै मन्त्री न्यौपानेले सङ्घीयता सुदृढ गर्नुको विकल्प नरहेको चर्चा गर्नुभयो । देशका सबै स्थानीय तहमा भइरहेको कर्मचारीको समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । 

मन्त्री न्यौपानेले देवघाट ऐतिहासिक एवं धार्मिक गन्तव्य स्थल भएकाले यसको विकासका लागि सङ्घीय सरकारले ध्यान दिने प्रतिबद्धता जनाउनुभयो । त्यस क्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले स्थानीय तहमा कर्मचारीको अभाव हुँदा काम गर्न समस्या भइरहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button