मन्त्री भण्डारी र आइओइका महासचिवबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी तथा रोजगारदाताको अन्तर्राष्ट्रिय सङ्गठन आइओइका महासचिव रोबर्टो स्वारेज सान्तोसबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।
भेटवार्ताका क्रममा मन्त्री भण्डारीले कोभिड महामारी तथा विश्व आपूर्ति शृङ्खलामा देखिएका अवरोधका बावजूद नेपालको अर्थतन्त्र पुनरुत्थानको क्रममा रहेको उल्लेख गर्नुहुँदै नेपालको आर्थिक विकासमा निजी क्षेत्रको अग्रणी भूमिका रहेको र सरकारले व्यवसायमैत्री तथा लगानीमैत्री वातावरण निर्माणका लागि काम गरिरहेको जानकारी गराउनुभयो ।

उहाँले नेपालमा लगानीको सम्भावनाबारे चर्चा गर्दै विदेशी लगानी भित्र्याउनका लागि नीतिगत, कानुनी र प्रक्रियागत सुधार भइरहेको तथा सोको परिणामस्वरूप हालका वर्षमा विदेशी लगानी स्वीकृतिका दर क्रमशः वृद्धि भइरहेको उल्लेख गर्नुभयो ।
मन्त्री भण्डारीले नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट हुने स्तरोन्नति तथा दिगो विकास लक्ष्य प्राप्तिको सन्दर्भमा थप स्रोत, प्रविधि, क्षमता विकास र साझेदारी आवश्यक रहेको उल्लेख गर्दै आइओइ र नेपाली निजी क्षेत्रबीच साझेदारी प्रवर्द्धन हुने अपेक्षा व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
महासचिव सान्तोसलाई नेपालमा रहेका लगानी सम्भावनाका बारेमा विश्वभरका लगानीकर्तामाझ सूचनाको सम्प्रेषण, नेपालका साना तथा मझौला उद्यमी व्यवसायीको क्षमता विस्तार तथा आधुनिक प्रविधिको हस्तान्तरण लगायतका क्षेत्रमा नेपालको निजी क्षेत्रसँग सहकार्य विस्तार गर्न मन्त्री भण्डारीले अनुरोध गर्नुभयो ।

आइओइका महासचिव सान्तोसले नेपालमा लगानी सम्भावना रहेको तथा अति कम विकसित मुलुकबाट हुने स्तरोन्नतिले सृजना गरेको अवसर र चुनौतीको बारेमा यस भ्रमणका बारेमा थप बुझ्ने मौका प्राप्त गरेको बताउनुभयो । विश्वव्यापी सञ्जाल रहेको संस्थाको रुपमा आइओइ रहेको बताउनुहुँदै उहाँले नेपालका साना तथा मझौला उद्यमीको क्षमता विस्तारमा सहकार्यको पहल भइरहेको उल्लेख गर्नुभयो ।
भेटवार्तामा आगामी दिनमा नेपालको निजी क्षेत्रसँग सहकार्यका थप सम्भावनाको खोजी गर्ने तथा नेपालमा लगानी विस्तारका लागि सूचना सम्प्रेषणमा सहकार्य गर्ने विषयमा छलफल भएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्