प्रधानमन्त्री ओलीद्वारा मटिहानीमा प्रसूति गृहको उद्घाटन

बर्दिबास। प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरीको मटिहानीमा प्रसूति गृहको उद्घाटन गर्नुभएको छ ।

मटिहानी नगरपालिका वडा न-६ मा निर्माण गरिएको प्रसूति गृहको आज प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभएको हो ।

सङ्घीय सरकारको विशेष अनुदान र नगरपालिकाको संयुक्त लगानीमा प्रसूति गृह भवनको निर्माण गरिएको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घीय सरकार र मटिहानी नगरपालिकाको १ करोड ८८ लाखको लागतमा भवन निर्माण भएको हो ।

मटिहानी नगरपालिका बर्थिङ्ग सेन्टरमा मासिक १५ देखि २० जनाको सुरक्षित प्रसूति गराइरहेको र जटिल किसिमको समस्या आएपछि प्राइभेट नर्सिङ होमतर्फ रिफर गर्नु पर्दा आम जनतामा आर्थिक भार पर्न गएकोले प्रसूति गृहको आवश्यकता महसुस गर्दै अत्याधुनिक सेवा सुविधा सहितको प्रसूति गृह निर्माण गरिएको नगरप्रमुख मण्डलले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आजै मटिहानी नगरपालिका वडा न-८ स्थित विग्ही नदीमा निर्माण भएको पुलको उद्घाटन गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्