गीतकार देवी पराजुलीका दुई म्युजिक भिडियो एकैसाथ सार्वजनिक
काठमाडौँ । गीतकार सङ्घ नेपालको आयोजनामा गीतकार देवी पराजुलीद्वारा रचित दुई गीत ‘गुञ्जियोस् शान्ति धुन’ र ‘आँखाले नि मनले जस्तै’ का म्युजिक भिडियो एकैसाथ सार्वजनिक भएका छन्।

सहरी विकास तथा भवन निर्माण विभागको सभा हल, बबरमहलमा बिहीबार आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष वसन्त बित्यासी थापाको अध्यक्षता तथा उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा भिडियो लोकार्पण गरिएको हो।
शान्ति, प्रेम, खुसी र सम-भावको भावना बोकेको ‘गुञ्जियोस् शान्ति धुन’ मा अर्जुन नेपालीको सङ्गीत तथा सङ्गीत संयोजन, विक्रम कार्कीको रेकर्डिङ र मिक्सिङ, र सृष्टि नेपालीको स्वर रहेको छ। भिडियो नितेश लामाको छायांकन र सम्पादनमा तयार भएको हो।
त्यसै गरी, प्रेमील भाव र रोमान्टिक शैलीको ‘आँखाले नि मनले जस्तै’ मा भैरव खकुरेलको सङ्गीत, प्रविन दत्तको सङ्गीत संयोजन र गायक लाक्पा शेर्पाको स्वर रहेको छ। भिडियोमा लाक्पा स्वयंका साथमा पेमा जङ्मु शेर्पा र गीतकार देवी पराजुलीले अभिनय गर्नुभएको छ।
लोकार्पण कार्यक्रममा पूर्व मन्त्री तथा वरिष्ठ गीतकार एस्पी कोईराला, राष्ट्रिय सभा सदस्य सुमित्रा बीसी, मधेसी आयोग सदस्य रेणु देवी साह, समावेशी आयोगका पूर्व अध्यक्ष विष्णु ओझा, सहसचिव नारायण मैनाली, नारायण गोपाल स्मृति प्रतिष्ठानका अध्यक्ष दीपक के।सी।, पीडी झप्पर सिंह विश्वकर्मा, सञ्चारकर्मी तथा गीत(सङ्गीत क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रम सञ्चालन गीतकार सङ्घका उपाध्यक्ष रमेश कोइरालाले गर्नुभएको थियो।






प्रतिक्रिया राख्नुहोस्