उदयपुरमा एक आर्थिक वर्षमा १२ जनाले लिए गैरआवासीय नेपाली नागरिकता
उदयपुर । उदयपुर जिल्ला प्रशासन कार्यालयबाट १२ जनाले गैर आवासीय नेपाली नागरिकता लिएको कार्यालयले जनाएको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालय उदयपुरले आर्थिक वर्ष २०८१/०८२ को कार्य प्रगति विवरण सार्वजनिक गर्दै सो कुरा जनाएको हो । कार्यालयको कार्यसम्पादनको प्रगति विवरणका अनुसार ६ जना महिला र ६ जना पुरुषले गैर आवासीय नेपाली नागरिकता लिएका हुन ।
कार्यसम्पादनको प्रगति विवरणका अनुसार उदयपुरमा नयाँ नागरिकता प्रमाण पत्रमा वैवाहिक अङ्गीकृत लिनेको सङ्ख्या ८ रहेको जनाएको छ । त्यस्तै उदयपुरमा एक आर्थिक वर्षमा वंशजको नागरिकता लिनेको सङ्ख्या १० हजार एक सय ३४ रहेको छ ।
उदयपुरमा नागरिकताको प्रतिलिपि लिने ६ हजार ७ सय ६६, नाबालक परिचय पत्र लिनेको सङ्ख्या एक सय ५९, राहदानी आवेदन सङ्कलन आठ हजार दुई सय ८८, राहदानी वितरण आठ हजार तीन सय ६४, राष्ट्रिय परिचय पत्र विवरण दर्ता २८ हजार सात सय ६४, राष्ट्रिय परिचय पत्र वितरण पाँच हजार नौ सय ३८ रहेको कार्यालयले जनाएको छ ।
यता दलित, आदिवासी जनजाति, मधेसीलगायत अन्य सिफारिस दुई हजार एक सय दुई, भारतीय ब्रिटिस पेन्सन सिफारिस ७९, ठाडो उजुरी एक सय २२,नयाँ संस्था दर्ता २३, नवीकरण एक सय ७३, हातहतियार नवीकरण ११, ड्रोन अनुमति एक, नयाँ मुद्दा दर्ता ७९, मुद्दा दर्ता फर्स्योट ७० रहेको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरले सरकारी कार्यालयको निरीक्षण चार पटक गरेको जनाएको छ । गएको आर्थिक वर्षमा उदयपुरमा पत्रपत्रिका तथा छापाखाना दर्ता नभएको उल्लेख गरिएको छ ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा कार्यालयले राजश्व सङ्कलनमा राहदानी शुल्कबाट चार करोड ६३ लाख ८५ हजार र अन्य प्रशासनिक शुल्कबाट पाँच लाख ६२ हजार एक सय ५०, हातहतियार नवीकरण दस्तुर शुल्कबाट एक लाख पाँच हजार दुई सय ५० गरी जम्मा चार करोड ७० लाख ५२ हजार चार सय राजश्व सङ्कलन गरेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्