तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक:  ‘मधेसलाई सङ्कटग्रस्त र सुक्खाग्रस्त क्षेत्र घोषणा गरेर मात्र राज्यको दायित्व पुरा हुँदैन’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद कृष्णकुमार श्रेष्ठले मधेस प्रदेशमा तत्काल पिउने पानीको आपतकालिन आपूर्ति र पानीका स्रोतको मर्मतमा तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै उहाँले मधेस प्रदेशलाई विपद् सङ्कट क्षेत्र घोषणा गरेता पनि समस्या समाधानका लागि सरकार गम्भीर नभएको भन्दै खेद प्रकट गर्नुभयो । 

मधेसमा सिँचाइ र खानेपानीको अभावबारे सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनु भएका उहाँले पानीमाथि राजनीतिक नियन्त्रण भएको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो । 

“सिँचाइको अभाव र खानेपानीको अभावमा बाचिरहेका मधेसका नागरिकको समस्यामा सरकार रमिते बनिरहेको छ”, सांसद श्रेष्ठले भन्नुभयो, “पिउने पानीको आपतकालिन आपूर्ति र पानीका स्रोतको मर्मतमा तत्काल चाल्न सक्ने कदम पनि चालेको छैन । नयाँ डिप बोरिङको राजनीतिकले छिमेकी जिल्लाका मन्त्रीका निर्वाचन क्षेत्रका जनतालाई राहत मिल्ला तर मधेसका जनतालाई अन्य सात जिल्लाका नागरिकले सरकारले महसुस गर्न पाएका छैनन् ।”

बुधवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैकले मधेस प्रदेशभर विपद् सङ्कटग्रस्त घोषण गरेको थियो । त्यसअघि असारमा बसेको मन्त्रिपरिषद्को बैठकले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । 

नेपाली काँग्रेसका सांसद रमा कोइराला पौड्यालले मधेसमा पानीको अभावसम्बन्धी विषय सम्बोधनका लागि बजेट छुट्याउनुपर्नेमा जोड दिनुभयो । 

“ सुख्खाग्रस्त क्षेत्र घोषणा मात्र गरेर पुग्दैन । त्यहाँका जनताले खानेपानी पाएका छैनन् । खानेपानी र सिँचाइको व्यवस्था गर्नुपर्‍यो”, उहाँले भन्नुभयो, “बजेट रकमान्तर गरेर भएपनि मधेसमा पानीको समस्या समाधान गर्न आग्रह गर्दछु ।” 

नेकपा९माओवादी केन्द्र०का सांसद विमला सुवेदीले रसुवाको नौकुण्ड गाउँपालिकामा दुई बालिकाको शङ्कास्पद मृत्यु भएको भन्दै उक्त घटनाबारे ढिलासुस्ती नगरी अनुसन्धान गर्न ध्यानाकर्षण गराउनुभयो । 

बैठकमा आकस्मिक समयमा बोल्दै नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले डेङ्गी सङ्क्रमण बढ्न थालेको भन्दै ‘खोज र नष्ट गर’ अभियान प्रभावकारी बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।  

सभामुखमार्फत सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउँदै उहाँले लामखुट्टेको लार्भा खोजेर नष्ट गर्नुपर्नेमा जोड दिनुभयो । 

सांसद गैरेले  पाल्पा जिल्लामा नसर्ने रोगहरू मुटु, क्यान्सर र मिर्गौला रोगका बिरामीको सङ्ख्या बढेकातर्फ सचेत गराउनुभयो । गुणस्तरहीन खाद्यवस्तुको उत्पादन र वितरण, धूम्रपान नियन्त्रण, खाद्य बालीमा अत्यधिक विषादी प्रयोग रोक्न र वातावरण प्रदूषण न्यूनीकरण गर्न सरकारसँग विशेष पहलको लागि माग गर्नुभयो । 

यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद रणेन्द्र बरालीले चितवनको राप्ती नगरपालिकामा राजनीतिक खिचातानीका कारण कर्मचारी भर्ना र निकाल्ने काम भइरहेको बताउनुभयो । उहाँले यस नगरपालिकाका ६९ जना कर्मचारीलाई तत्काल पारिश्रमिक उपलब्ध गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

“६९ जना कर्मचारीले नगरपालिका घेराउ कार्यक्रम निरन्तर चलाएका छन् । नौ महिनादेखि पारिश्रमिक र पुनर्बहालीको माग राखेर घेराउ गरिरहनुभएको छ । सम्बन्धित निकायलाई न्यायिक कार्य थाल्नुपर्छ”, सांसद बरालीले भन्नुभयो । 

नेपाली काँग्रेसका सांसद दीपक गिरीले सडक दुर्घटनाको बढ्दो जोखिमबारे सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । अमेरिकाको लुइसिया टेक युनिभर्सिटीमा अध्ययनरत दुई नेपाली विद्यार्थीको सडक दुर्घटनामा मृत्यु भएको र उनीहरूको  अभिभावकलाई दाहसंस्कारका लागि अमेरिकाको भिसा उपलब्ध गराउन सहज व्यवस्था गर्न समेत माग गर्नुभयो । 

नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले कर्णाली प्रदेशमा तुईन विस्थापन, किसानलाई मल र मधेसमा पानीको आपत्कालिन व्यवस्थापनलगायतका विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्न माग गर्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button