तपाईँ सुन्दै हुनुहुन्छः

‘तनावबाट मुक्तिका लागि योग, ध्यानको जीवनशैली अपनाऔँ’

काठमाडौँ । आधुनिक जीवनशैलीसँगै मानिसमा आउने अनियन्त्रित विचारका कारण तनाव बढेर मानिस समस्यामा पर्न थालेको भन्दै यसबाट बच्न योग, ध्यानलगायत सकारात्मक अभ्यास गरिनुपर्नेमा जोड दिइएको छ ।

  नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घले आज आयोजना गरेको ‘हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र कल्याणतर्फको यात्रा’ विषयक विचार गोष्ठीका वक्ताले ऋषिमुनिले प्रतिपादन गरेको ज्ञानका आधारमा अपनाइने जीवनशैली नै कल्याणकारक रहेको बताएका हुन् । कार्यक्रममा डा चिन्तामणि गौतम, डा कल्पना तिवारी र इन्जिनियर करुणा अमात्य योग, ध्यानलगायत ऋषिमुनिले भनेअनुसारको जीवनशैली अपनाउनुपर्नेमा जोड दिनुभएको थियो । 

  चिन्ताका कारण तनाव बढ्दै जाँदा मानिस आत्महत्याको निर्णयमा पुगेकै कारण पछिल्लो समय आत्महत्या गर्नेको सङ्ख्या बढेको प्रहरीको तथ्याङ्क छ । नेपालमा अहिले दैनिक सात जना आत्महत्याकै कारण जीवन गुमाउने गरेका छन् । सकारात्मक सोचका लागि पनि साधनाका विभिन्न उपाय अपनाउन सकिनेमा विज्ञहरूले जोड दिएका थिए ।

  कार्यक्रमको शुभारम्भ गर्नुहुँदै प्रतिष्ठानका कुलपति भूपाल राईले यो विषयको प्रस्तुतिले यस्ता कार्यक्रमका बारेमा पनि बहस गर्नुपर्ने महसुस भएको बताउनुभयो । यस्ता कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिने उहाँको भनाइ थियो ।

  कार्यक्रममा विद्यावारिधि सङ्घका अध्यक्ष डा सुनिलबाबु श्रेष्ठले मानिस विभिन्न विकार लिएर बाँचिरहेकाले त्यसबाट मुक्तिका लागि हाम्रो धर्तीमै उत्पत्ति भएको योग, ध्यान, प्राकृतिक चिकित्सालगायत माध्यमबाट यसको न्यूनीकरण गर्न सकिने भएकाले यसतर्फ सरोकार भएका सबैको ध्यानाकर्षण गराउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो । आयोजक संस्थाका सदस्य डा माला खरेलले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button