तपाईँ सुन्दै हुनुहुन्छः

कोईलावास भन्सारद्वारा आ.व. ०८१/८२ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन 

दाङ । राप्ति अञ्चलको मुख्य नाका कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा लक्ष्य भन्दा बढी राजस्व सङ्कलन गरेको छ । राप्ति अञ्चलको  एक मात्रै भन्सार नाका कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० लाख बढी राजस्व सङ्कलन गरेको हो ।

गत आर्थिक वर्ष २०८१/०८२ का लागि १ करोड ६३ लाख छ हजार राजस्व सङ्कलनको लक्ष्य पाएको कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० लाख बढी अर्थात् एक करोड ७२ लाख राजस्व सङ्कलन गरेको भन्सार प्रमुख लोकबहादुर विष्टले जानकारी दिनु भयो  ।

सङ्कलित राजस्व १५ लाख एक हजार ७४९ रुपैयाँ मुद्दाबाट असुल भएको र बाँकी अस्थायी पैठारीबाट सङ्कलन भएको पनि कार्यालयले जनाएको छ । कार्यालयले साउनमा १२ लाख राजस्व उठाउने लक्ष्य कार्यालयले लिएको थियो । जसमा नौ लाख २३ हजार राजस्व उठेको थियो । जुन लक्ष्यको ७६।९९ प्रतिशत हो । लक्ष्य भन्दा दुई लाख ७६ हजार रुपैयाँ कम राजस्व सङ्कलन भएको थियो ।

भदौमा १३ लाख १९ रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा छ लाख १९ हजार मात्र असुली भएको थियो । जुन लक्ष्यको ४६.९८ प्रतिशत हो । लक्ष्यभन्दा छ लाख ९९ हजार रुपैयाँ कम राजस्व सङ्कलन भएको थियो । असोजमा १३ लाख २६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा सात लाख आठ हजार २७० रुपैयाँ सङ्कलन भएको थियो । जुन ५३.४१ प्रतिशत हो । लक्ष्यभन्दा छ लाख १७ हजार रुपैयाँ कम हो । यसैगरी कात्तिकमा १२ लाख ८९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा नौ लाख १३ हजार सङ्कलन भएको थियो । यो ७०.९० प्रतिशत हो ।

लक्ष्य भन्दा तीन लाख ७५ हजार कम राजस्व सङ्कलन भएको थियो । मंसिरमा १३ लाख ६८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा आठ लाख ९१ हजार राजस्व सङ्कलन भएको थियो । जुन लक्ष्यको ६५.१४ प्रतिशत हो । लक्ष्य भन्दा ४ लाख ७६ हजार कम राजस्व सङ्कलन भएको हो । पुसमा १३ लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा ३० लाख ४६ हजार रुपैयाँ सङ्कलन गरिएको छ ।

यो लक्ष्यको २२९.९२ प्रतिशत बढी हो । लक्ष्य भन्दा १७ लाख २१ हजार बढी राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ । माघमा १२ लाख ५४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा १२ लाख ४९ हजार सङ्कलन गरिएको थियो ।

जुन लक्ष्यको ९९.६७ प्रतिशत हो । फागुनमा १४ लाख ४४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा ११ लाख सङ्कलन भएको थियो । जुन लक्ष्यको ७६.६८ प्रतिशत हो । चैतमा १४ लाख ४३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा १० लाख ३२ हजार सङ्कलन भएको थियो । जुन लक्ष्यको ७१.५६ प्रतिशत हो ।

वैशाखमा १३ लाख ८८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा नौ लाख ८७ हजार सङ्कलन भएको थियो । जुन लक्ष्यको ७१.११ प्रतिशत हो । जेठमा १५ लाख ३३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा २३ लाख ४३ हजार सङ्कलन भएको थियो । जुन लक्ष्यको १५१.९ प्रतिशत हो । असारमा १४ लाख १७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा १९ लाख ६४ हजार सङ्कलन भएको हो । जुन लक्ष्यको १३८.६४ प्रतिशत हो ।

नाकामा भारतीय पक्षबाट कडाइ गरिँदा आवतजावत कम भएकाले राजस्व समेत कम उठेको कार्यालयले जनाएको छ । भारत प्रवेश गर्दा कडाइ गरेको कारणले यहाँबाट आवतजावत गर्नेको सङ्ख्या घट्दै गएको छ । यो बाटो भएर भारत प्रवेश गर्दा नेपाली नागरिकता, लाइसेन्स जस्ता सक्कली कागजपत्र भारतीय सुरक्षाकर्मीले राखिदिने गरेको स्थानीयको भनाइ छ । जसले आवतजावत कम हुने गरेको हो ।

कोइलाबास भन्सारको राजस्वको स्रोत भनेको अस्थायी पैठारी हो । भारतीय सवारी साधनबाट उठाउने राजस्व नै प्रमुख स्रोतको रूपमा लिइएको छ । भारतबाट नेपाल आउने गाडीलाई दैनिक ६ सय रुपैयाँ र मोटरसाइकलबाट प्रतिदिन दुई सय रुपैयाँ लिने गरेको प्रमुख विष्टले बताउनु भयो  ।

भारतबाट नेपाल प्रवेश गर्ने सवारी साधनबाट र केही खाद्यान्नलगायतका अन्य सामग्रीबाट उठ्ने गरेको भन्सार कार्यालयले जनाएको छ । भारतबाट कोइलाबास क्षेत्रसँगै रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर, दाङको चौघेरा मन्दिरलगायतका ठाउँमा पूजापाठ तथा घुमफिरका लागि आउने मानिसले प्रयोग गर्ने सवारी साधनबाट बढी मात्रामा राजस्व सङ्कलन हुने गरेको कार्यालयले जनाएको छ । सामग्रीको तुलनामा घुमफिरका लागि आउने मानिसले प्रयोग गर्ने सवारी साधनबाट बढी राजस्व उठ्ने गरेको छ ।

व्यावसायिक रूपमा नाका चल्न सकेको छैन । यहाँ उठ्ने राजस्व भनेको सवारी साधनबाट उठ्ने कर नै हो । कुनै समय व्यापार व्यवसाय धेरै हुने नाकाको पहिचान बनाएको कोइलाबास पछिल्लो समय भारतीय पर्यटक नेपाल भित्रिने नाकाको रुपमा विकास भएको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button