‘देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्छ’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्न सक्नुपर्ने बताउनुभएको छ । रिटर्नी फेडेरेशन नेपालले केही स्वदेशी लगानीकर्ताको सामूहिक लगानीमा स्थापना गरिएको ‘नवयुग इन्भेस्टमेन्ट कम्पनी लिमिटेड’ को शुभारम्भ गर्दै देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्ने बताउनुभयो ।

‘म बनाउँछु मेरो देश’ भन्ने भावनाका साथ लाग्ने हो भने नेपाललाई समृद्ध मुलुक बनाउन सकिने उहाँको भनाइ छ । महासचिव पोखरेलले परम्परागत निर्वाहमुखी काम गरेर देश समृद्ध नहुने र परम्परागत ढाँचाले मात्रअघि बढ्दा फेरि अभावकै दुष्चक्रमा फस्नुपर्ने बताउनुभयो ।
“अर्थतन्त्रमा निर्वाहमुखी, पारिवारिक उत्पादनमुखी, गुजारामुखी ढाँचाको रहेको छ । औद्योगिक क्षेत्र पनि कर्पोरेट कल्चरमा ढालिएकै छैन । कम्पनी पारिवारिक कम्पनीकै ढाँचामा छन्”, उहाँले भन्नुभयो, “कम्पनी साँच्चै पब्लिक बन्न सकेका छैनन् ।”
महासचिव पोखरेलले नेपाल चर्चा गरिएको जस्तो गरिब मुलुक नभएको उल्लेख गर्दै नेपालको सामर्थ्य के छ भन्ने कुरा नेपालीले बुझ्न नसकेका बताउनुभयो । महासचिव पोखरेलले नेपाल भित्रिने रेमिट्यान्सको अधिकांश हिस्सा नेपाल आएर काम गर्ने भारतीय कामदारले नै लैजाने गरेका बताउनुभयो ।
फेडेरेशनका अध्यक्ष विनोद भट्टराईले विदेशबाट फर्केकालाई लगानीको वातावरण सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्