२५ वर्षपछि लेखनाथमा ताया: मचा नृत्य प्रतियोगिता हुँदै
कास्की । नेवा: खल कास्कीको आव्हानमा शिशुवा नेवा: खलको आयोजनामा कास्की जिल्ला स्तरीय २६औँ ताया: मचा नृत्य प्रतियोगिता हुने भएको छ ।आगामी श्रावण ३१ गते, श्रीकृष्ण जन्माष्टमीका दिन पोखरा–३०, शिशुवा बजारमा हुने कार्यक्रमबारे आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

‘कला संस्कृतिको संरक्षण, भावी पुस्तालाई हस्तान्तरण’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगितामा कास्की जिल्लाभरिका ३५ टिमहरूको सहभागिता रहने कार्यक्रम संयोजक अर्जुन कुमार ताम्राकारले जानकारी दिनुभयो ।
ताया: मचा नृत्य नेवार समुदायको मौलिक संस्कृति हो । जुन प्रतियोगितात्मक रूपमा देशभरमा कास्की जिल्ला मात्रै मनाइँदै आएको नेवा: खल कास्कीका अध्यक्ष अशोक पालिखेले बताउनुभयो। उहाँका अनुसार कास्कीका विभिन्न कचाः खल र ताया: मचा समितिहरूको सहभागिता रहने प्रतियोगिता यस पटक अझ व्यवस्थित र मर्यादित बनाइनेछ।
शिशुवा नेवा: खलका संयोजक कृष्ण कुमार कतिलाले २५० वर्ष पुरानो सांस्कृतिक परम्परालाई सजीव राख्दै ताया: मचालाई सांस्कृतिक महोत्सवको रूपमा विस्तार गरिन लागेको जानकारी दिनु भयो। उनले गाईजात्रालाई केवल नेवार समुदायको पर्व नभई समस्त जात–धर्म, भाषा र संस्कृतिको साझा सम्पत्ति बनाउँदै लैजानुपर्नेमा जोड दिनु भयो।
करिब ३३ लाख खर्च अनुमान गरिएको प्रतियोगिताका लागि पोखरा महानगरपालिका, वडा कार्यालयहरू, प्रदेश सरकार, सङ्घसंस्थाहरू, उद्योगी व्यवसायी र सहयोगदाता प्रमुख स्रोतका रूपमा रहने आयोजकको भनाइ छ । २५ वर्ष पछि शिशुवामा ताया: मचा हुन लागेको हो ।
प्रतिक्रिया राख्नुहोस्