तपाईँ सुन्दै हुनुहुन्छः

बागेश्वरी मन्दिर परिसरमा जुँगे महादेवको प्राणप्रतिष्ठापछि पूजाआजा सुरु

बाँके। नेपालगञ्जको बागेश्वरी मन्दिर परिसरमा रहेको जुँगे (खडेश्वर) महादेव मन्दिरमा सोमबारदेखि पूजाआजा सुरु गरिएको छ। अष्टधातुको नवनिर्मित महादेव मूर्तिको प्राणप्रतिष्ठापछि मन्दिर सर्वसाधारणका लागि खुला गरिएको हो।

नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोग र बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको व्यवस्थापनमा मूर्तिको प्राणप्रतिष्ठा गरिएको हो। प्रतिनिधिसभा सदस्य धवलशम्शेर राणा, नगरप्रमुख प्रशान्त विष्ट, गुठी समितिका अध्यक्ष गोपाल अधिकारीलगायतले संयुक्त रूपमा पूजाआजा गर्दै प्राणप्रतिष्ठा गरेका हुन्।

गुठी समितिका अध्यक्ष अधिकारीका अनुसार प्राणप्रतिष्ठा पण्डित जयराम आचार्यको नेतृत्वमा ११ सदस्यीय पण्डित समूहले मन्त्रोच्चारणसहित सम्पन्न गरेका थिए। पूजाआजापछि मन्दिर खुल्ला गरिएसँगै नेपाली र भारतीय भक्तजनको भीड लागेको छ।

रु १५ लाखको लागतमा निर्माण गरिएको अष्टधातुको मूर्तिको मर्मतसम्भार दुई वर्षअघि सुरु गरिएको थियो। नगरप्रमुख विष्टका अनुसार २००७ सालमा बनेको पुरानो संरचना र ७५ वर्ष पुरानो मूर्ति पुनःस्थापना आवश्यक भएकाले नयाँ मूर्ति निर्माण गरिएको हो। उनले नजिकै निर्माणाधीन १०८ फिट अग्लो हनुमानको मूर्तिबारे पनि जानकारी दिनुभयो।

धार्मिक विश्वासअनुसार शिवको उपस्थितिले नकारात्मक शक्तिको नाश, आत्मशुद्धि र इच्छाशक्ति वृद्धिमा सहयोग गर्छ। खडेश्वर महादेवको पुनःस्थापनाले बाँके र लुम्बिनी प्रदेशको धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने विश्वास गरिएको छ।

जानकी गाउँपालिका–५ का अध्यक्ष तथा प्रवक्ता टिकानाथ यादवले वागेश्वरी र जुंगेश्वर महादेवलाई नेपालगञ्जको धार्मिक पर्यटनको मुख्य स्रोतका रूपमा विकास गर्न प्रचारप्रसार र ब्रान्डिङमा योजनाबद्ध रूपमा काम गर्नुपर्ने आवश्यकता औंल्याए। उनले यो धार्मिक, ऐतिहासिक र सांस्कृतिक कार्यले बागेश्वरी शक्तिपीठलाई अझ भव्य र आध्यात्मिक गन्तव्यका रूपमा स्थापित गर्न सहयोग गर्ने बताए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button