तपाईँ सुन्दै हुनुहुन्छः

पर्सामा गत आर्थिक वर्ष १ हजार ५ सय ११ जना फरार प्रतिवादी पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले फरार प्रतिवादीहरूलाई पक्राउ गर्न चलाएको विशेष अभियान अन्तर्गत आर्थिक वर्ष २०८१/०८२ मा १ हजार ५ सय ११ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।

पर्सा प्रहरीका अनुसार एक वर्षमा विभिन्न मुद्दामा दोषी ठहरिएर नेपाल र भारतका विभिन्न स्थानमा लुकेर बसेका १ हजार ५ सय ११ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयन गरिएको हो ।

पक्राउ परेका प्रतिवादीहरूबाट ७३ वर्ष २ महिना कैद सजाय र ३५ करोड ५१ लाख २९ हजार ५५६ रुपैयाँ जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिनुभयो । 

अभियानले पीडितलाई न्याय सुनिश्चित गर्न र समाजमा अराजकता तथा निराशा रोक्न महत्त्वपूर्ण योगदान पुर्याएको एसपी मिश्रको दाबी गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्साले फरार प्रतिवादीहरूलाई पक्राउ गरी कानुनी कारबाही अगाडि बढाउनु आफ्नो प्रमुख प्राथमिकता रहेको जनाएको छ । “कुनै पनि बहाना, दबाब वा प्रभावमा कोही फरार प्रतिवादी उम्किन सक्दैन,” एसपी मिश्रले भन्नुभयो । 

जिल्लामा बाँकी रहेका फरार प्रतिवादीहरूलाई पनि पक्राउ गर्न अभियान निरन्तर जारी रहेको प्रहरी उपरीक्षक मिश्रले बताउनुभयो ।  

अभियानले पर्सा जिल्लामा कानुनी शासन कायम गर्न र पीडितलाई न्याय दिलाउन महत्वपूर्ण भूमिका खेलेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button