तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरमा नयाँ नागरिकता लिने युवाहरूलाई नागरिकताको महत्वबारे सचेतना

उदयपुर । उदयपुर जिल्ला प्रशासन कार्यालयले नयाँ नागरिकताको प्रमाणपत्र लिन आउने नयाँ युवा पुस्तालाई ‘नागरिकता’ को महत्व बुझाउँदै नयाँ नागरिकता प्रदान गर्न थालेको छ । 

प्रशासन कार्यालय उदयपुरले आजदेखि नयाँ नागरिकता लिन आउने नयाँ युवा पुस्तालाई नागरिकताको दुरुपयोग नहोस् भन्ने उद्देश्यसहित यसको महत्व बुझाउँदै  नागरिक प्रतिबद्धता स्वः घोषणा लागू गरेको हो ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले नयाँ आर्थिक वर्ष २०८२/८३ सुरु भएसँगै आज साउन २ गतेदेखि नयाँ नागरिकता लिन आउने नागरिकका लागि नागरिकताको महत्व बुझाउन नागरिक प्रतिबद्धता स्वः घोषणा लागू गरिएको जानकारी दिनुभयो । 

उहाँले नयाँ नागरिकता लिएपछि नागरिकहरूलाई नागरिकताप्रति जिम्मेवार बनाउनको लागि नागरिक प्रतिबद्धता स्वः घोषणा लागू गरेका बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय उदयपुरमा नयाँ नागरिकता लिन आउने सेवाग्राहीका लागि नागरिक प्रतिबद्धता स्वः घोषणा लागू गर्दै प्रमुख जिल्ला अधिकारी लुइँटेलले सात जनालाई नयाँ नागरिकता प्रदान गर्नुभयो । 

जिल्ला प्रशासन कार्यालय उदयपुरले लागु गरेको नागरिक प्रतिबद्धता स्वः घोषणामा सात बुँदा राखिएको छ ।

कार्यालयले जारी गरेको सात बुँदाहरूमा राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने छु । नेपालको संविधान र प्रचलित कानुनको पूर्णरुपमा पालना गर्ने छु । सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नेछु । नागरिकता प्रमाण पत्रको दुरुपयोग गर्ने छैन । दोहोरो नागरिकता बनाउने छैन । नागरिकता च्यात्ने, केरमेट गर्ने छैन । नागरिक प्रमाणपत्रको संरक्षण गर्ने छु । नागरिकता अनुसार आफ्नो पहिचान विवरण कायम गर्ने छु । झुटो विवरणका आधारमा नागरिकता दिलाउने कार्यमा संलग्न हुनेछैन जस्ता बुँदामा प्रतिबद्धता गराउने गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय उदयपुरले सुरु गरेको स्वः घोषणाका सातै बुँदा जिल्ला प्रशासन कार्यालयमा ब्यानर बनाएर राखिएको छ । उक्त ब्यानर सेवा लिन आउने जो कोहीलाई जानकारी होस् भन्ने उद्देश्यले ब्यानर बनाएर राखिएको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button