तपाईँ सुन्दै हुनुहुन्छः

झापामा ठूलो परिमाणमा औषधिजन्य लागुऔषध बरामद

भद्रपुर, झापा । झापामा ठुलो परिणाममा प्रतिबन्धित औषधिजन्य लागुऔषध बरामद भएको छ । 

झापा विर्तामोडको एक गोदाममा छापामारी प्रहरीले प्रतिबन्धित औषधिजन्य लागुऔषध बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार विर्तामोड–५ निवासी भानुभक्त खरेलले भाडामा लिएको गोदाममा छापा मार्दा ट्रमाडोल हाइड्रोक्लोराइड क्याप्सुल १,०३,८०० थान, ट्रमाडोल हाइड्रोक्लोराइड इञ्जेक्सन १८७० एम्पुल, ट्रमाडोल तथा एसेटामिनोफेन ट्याब्लेट ४०५० चक्की, डीसाइक्लोमाइन एचसीएल ट्याब्लेट ९७००० थान, सिल्डेनाफिल ट्याब्लेट ८९०० थान र कम्बीप्याक अफ मिफेप्रिस्टोन ट्याब्लेट तथा मिसोप्रोस्पोल ट्याब्लेट ७६५० थान बरामद भएको छ । 

प्रहरीले घटनामा एक जना कामदारलाई पनि पक्राउ गरेको छ । इप्रका बिर्तामोडमा आज पत्रकार सम्मेलन गरी प्रहरीले बरामद प्रतिबन्धित औषधिजन्य लागुऔषध र पक्राउ परेका अर्जुनधारा–६ निवासी विनोद घिमिरेलाई सार्वजनिक गरेको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डीएसपी विजय श्रेष्ठले अहिलेसम्मकै ठूलो परिमाणमा औषधिजन्य लागुऔषध बरामद भएको जनाउँदै आवश्यक कारबाही प्रक्रिया अघि बढाइने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button