तपाईँ सुन्दै हुनुहुन्छः

पर्सा जिल्ला अदालतद्वारा ०८१/८२ मा मुद्दा फर्छ्यौटमा उल्लेखनीय सफलता, ५७.२९ प्रतिशत मुद्दा फछ्र्यौट

वीरगंज । पर्सा जिल्ला अदालतले आर्थिक वर्ष २०८१/८२ मा मुद्दा फर्छ्यौटको क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको छ । अदालतले सो अवधिमा कुल मुद्दामध्ये करिब ५७.२९ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ, जुन पछिल्लो पाँच वर्षको तुलनामा सबैभन्दा उच्च दर हो ।

अदालतका श्रेस्तेदार प्रभाकर कुमार मल्लिकका अनुसार, अदालतमा गत वर्षसम्म कूल १४,३३१ मुद्दा रहेकोमा ७,२३९ मुद्दा फछ्र्यौट भएका हुन् । तीमध्ये ६,०९२ मुद्दा अघिल्लो आर्थिक वर्षबाट सारिएका थिए भने ८,२३९ नयाँ दर्ता भएका थिए ।

यद्यपि, अदालतको लक्ष्य ९,४९१ मुद्दा फछ्र्यौट गर्ने थियो, तर फछ्र्यौट दरमा भएको सुधारले न्यायिक प्रणालीमा सकारात्मक सन्देश दिएको मल्लिकले बताउनुभयो ।

उहाँका अनुसार, २ वर्षभन्दा पुराना १,८०९ मुद्दामध्ये हाल ३३४ मुद्दामात्र बाँकी छन् । फरक मुद्दा व्यवस्थापन प्रणाली अन्तर्गतका सबै मुद्दा सफलतापूर्वक समाधान गरिएको छ, जुन व्यवस्थागत सुधारको सङ्केत हो ।

तुलनात्मक रुपमा हेर्दा गत आर्थिक वर्षमा ५ वर्षयता सबैभन्दा बढी मुद्दा फछ्र्यौट भएको श्रेस्तेदार  मल्लिकले दाबी गर्नुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ४० दशमलव २, आर्थिक वर्ष २०७७/७८ मा ४० दशमलव ४४, आर्थिक वर्ष २०७८/७९ मा ४६ दशमलव ०६, आर्थिक वर्ष २०७९/८० मा ४६ दशमलव ९६ र गत आर्थिक वर्ष २०८१/८२ मा ५७ प्रतिशत २९ प्रतिशत मुद्दा फछ्र्यौट  भएको छ ।

मल्लिकले अदालतको कार्यक्षमता, इमान्दार प्रयास र प्रविधिको प्रयोगमार्फत न्यायिक प्रक्रियालाई छरितो बनाउन सकिएको दाबी गर्दै बाँकी रहेका मुद्दा पनि आगामी वर्षमा फछ्र्यौट गर्ने लक्ष्य रहेको स्पष्ट पार्नुभयो । 

न्याय प्रशासनमा सुधारको यो गति निरन्तर रहन सकेमा नागरिकमा न्यायप्रति विश्वास अझ बढ्ने कानुनी जानकारहरूले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button