तपाईँ सुन्दै हुनुहुन्छः

खानेपानी विभागको हालसम्मकै ऐतिहासिक उपलब्धि, ९० प्रतिशत वित्तीय प्रगति  

काठमाडौँ । खानेपानी मन्त्रालय मातहतको खानेपानी तथा ढल व्यवस्थापन विभागले चालु आर्थिक वर्षमा ९० प्रतिशत वित्तीय प्रगति हासिल गर्दै ऐतिहासिक सफलता हात पारेको छ ।

विगतका वर्षहरूमा सुस्त प्रगति देखिँदै आएको विभागले यसपटक उल्लेखनीय सुधार गर्दै सबैको ध्यान खिच्न सफल भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको स्पष्ट निर्देशन, नीतिगत मार्गदर्शन र विभागीय टोलीको समर्पित प्रयासले यो सफलता सम्भव भएको विभागले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षमा विभागको वित्तीय प्रगति ६३ प्रतिशत मात्र रहेकोमा चालु आर्थिक वर्षमा विभागले कुल ९० दशमलब १० प्रतिशत वित्तीय प्रगति गर्न सफल भएको जनाइएको छ ।

विभागको अद्यावधिक विवरणअनुसार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बाँकेले ९७ दशमलब ८३, रामेछापले ९६ दशमलब ९१ प्रतिशत, रुपन्देहीले ९५ दशमलब ९४, म्याग्दीले ९५ दशमलब ६२ तथा कास्कीलेले ९५ दशमलब ४२ प्रतिशत प्रगति हासिल गरी उत्कृष्ट परेका छन् ।

समयमै योजना कार्यान्वयन, अनुगमन तथा अन्तरसंस्थागत समन्वयले गर्दा विभागले उल्लेख्य सफलता हात पार्न सफल भएको विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विभागको वित्तीय प्रगति ९० प्रतिशत पुगेको छ । यो विभाग सहित मन्त्रालयका लागि नै ठूलो उपलब्धि हो । रकमान्तरमा सहयोग गर्ने खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय लगायत सबैमा विभाग अनुग्रहित छ ।”  

उहाँले आगामी दिनमा अझ प्रभावकारी कार्यान्वयनका लागि विभाग प्रतिबद्ध रहेको समेत स्पष्ट पार्नुभयो । उहाँले आम उपभोक्ता समिति, निर्माण व्यवसायीलाई समेत धन्यवाद व्यक्त गर्नुभयो ।

विभागले मुलुकभरका खानेपानी तथा ढल व्यवस्थापन परियोजनाहरूमा देखाएको तीव्रता र परिणाममुखी कार्यप्रगति यो उपलब्धिको मुख्य कारण भएको मन्त्री प्रदीप यादवले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जनताको आधारभूत आवश्यकता पूरा गर्नु हाम्रो दायित्व हो । हामी परिणाम देखिने गरी काम गर्छौं, प्रगति अङ्कमा मात्र होइन, जनताको जीवनस्तरमा देखिनुपर्छ । आज जुन कुरा विभागले देखाएको छ ।”

खानेपानीका क्षेत्रमा विशेषगरी ग्रामीण भेगमा पहुँच नपुगेका क्षेत्रहरूमा सेवा विस्तारमा गरिएको प्रयास र काम पनि प्रशंसनीय रहेका उहाँको भनाई छ । यो उपलब्धिले अबको आर्थिक वर्षमा अझ बढी प्रतिबद्धता र पारदर्शिताका साथ विकास निर्माण कार्य अघि बढाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

विगतका वर्षहरूमा तुलनात्मक रूपमा कम प्रगति हुँदै आएकोमा यस वर्ष विभागको वित्तीय प्रगतिमा उल्लेखनीय सुधार देखिएपछि सिङ्गो मन्त्रालय नै खुशी भएको खानेपानी मन्त्रालयका सचिव ई प्रमीलादेवी शाक्य बज्राचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मन्त्रीज्यूको स्पष्ट निर्देशन, मार्गदर्शन तथा विभागको सक्रियता र प्रतिबद्धताका कारण यो आर्थिक प्रगति सम्भव भएको हो । जुन सबैका लागि सकारात्मक र खुशीको कुरो हो ।”

खानेपानी तथा ढल व्यवस्थापन विभागले अघिल्ला वर्षहरूको तुलनामा चालु आर्थिक वर्ष खानेपानी तथा सरसफाइ क्षेत्रले आशातीत सफलता एवं उत्कृष्ट कार्य हासिल गर्न सकेको मन्त्रालयमा प्रवक्ता ई मीना श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विगतमा जस्तो रकमान्तर, भेरिएसन, म्याद थप जस्ता कामको लागि असार महिनामा अर्थ मन्त्रालय धाइरहन नपरेकाले विभागले आशातीत सफलता हासिल गर्न सकेको छ ।”

देशको सार्वजनिक सेवा क्षेत्रमै एक उल्लेखनीय सफलता हासिल गर्दै खानेपानी तथा ढल व्यवस्थापन विभाग हालसम्मकै उच्चतम तथा ऐतिहासिक मानिएको विभागका प्रवक्ता राजेन्द्र सापकोटाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यस वर्षको तीव्र सुधारले विभागको कार्यदक्षता प्रमाणित सहित सार्वजनिक सेवा प्रणालीमै परिवर्तन सम्भव रहेको सङ्केत पनि दिएको छ ।”

यसै वर्ष विभाग अन्तर्गतका १५ वटा कार्यालयहरू स्थायी भएको र रु ११ अर्ब ६३ करोड बराबरको ८१ वटा योजनाहरूको स्रोत सहमति प्राप्त भएको विभागका महानिर्देशक श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार विश्व बैङ्कको सहयोगमा भेरी पम्पिङ योजनाको सम्झौता यही आर्थिक वर्षमा सम्पन्न भएको, एसियाली विकास बैङ्कको एकीकृत परियोजनाको मिसन चलिरहेको र आउँदो दुई महिनाभित्र योजनाहरूको ठेक्का आह्वान हुने तयारीमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button