तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री दाहालसँग चीनका राजदूत सङको शिष्टाचार भेट

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग नेपालका लागि चीनका राजदूत चेन सङले शिष्टाचार भेट गर्नुभएको छ । 

आज मन्त्रालयमा भएको सो भेटमा बाढीले क्षतिग्रस्त स्याफ्रुबेँसी–रसुवागढी सडक तथा सीमा पुल निर्माणलगायतका विषयमा छलफल भएको मन्त्री दाहालको सचिवालयले जनाएको छ । 

भेटका क्रममा क्षतिग्रस्त सडक तथा पुलको पुनः निर्माणमा चीनले चासो देखाएको छ । चीनले सीमापुल भएको स्थानमा जतिसक्दो छिटो अस्थायी पुल बनाउने प्रतिबद्धता जनाएको छ । 

यसैगरी चीन सरकारको सहयोगमा सञ्चालित अन्य आयोजना टोखा–छहरे सुरुङ्मार्ग, हिल्सा–सिमिकोट सडक, खाँदबारी–किमाथाङ्का सडकलगायतका विषयमा पनि छलफल भएको थियो । छलफलमा राजदूत सङले काठमाडौँ–चक्रपथ दोस्रो खण्ड विस्तार सुरु गर्ने बताउनुभयो । 

भेटपछि मन्त्री दाहालले नेपालको विकासमा चीनले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । आगामी दिनमा नेपाल र चीनबीच रहँदै आएको सहकार्य अझ प्रगाढ बन्ने विश्वाससमेत मन्त्री दाहालले व्यक्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button