एक अर्ब लगानीको ग्लोबल डेरी जहाँ २५० जनाले प्रत्यक्ष रोजगारी

नेपालगञ्ज । ग्लोबल डेरीले कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ इमिलियामा मुख्य प्रशोधन केन्द्र स्थापना गरी बुद्धभूमि ब्राण्डमा विभिन्न प्रकारका दुग्ध एवम् दुग्धजन्य पदार्थहरू उत्पादन गर्दछ । कम्पनीले ती बस्तुहरू उत्पादन गरी बिक्री वितरण गरिरहेको छ । हालसम्म नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, अर्घाखाँची र पाल्पामा गरी ८१ वटा सङ्कलन केन्द्र एवम् चिस्यान केन्द्र स्थापना गरी दैनिक ४० देखि ५० हजार लिटरसम्म दूध सङ्कलन गरी प्रशोधन, विविधीकरण र बजारीकरणको कार्य गर्दै आइरहेको ग्लोबल डेरी प्रालिका प्रबन्ध निर्देशक जनक न्यौपानले बताउनुभयो ।
जसबाट वार्षिक करिब १.५ अर्ब रुपैयाँ बजारको पैसा सङ्कलन भई ग्रामीण क्षेत्रमा प्रवाह भइरहेको उहाँको भनाई छ । र, करिब २० हजार कृषक परिवारबाट उत्पादित दूध प्रत्यक्ष रुपमा सङ्कलन भइरहेको छ । एक अर्बको लगानी रहेको ग्लोबल डेरीले २५० जनालाई प्रत्यक्ष रोजगारी दिएको कम्पनीले जनाएको छ । प्रबन्ध निर्देशक न्यौपानेका अनुसार उहाँसँगै थानेश्वर न्यौपानेको अगुवाईमा कमल न्यौपाने समेतले उक्त डेरी उद्योग सञ्चालन गर्दै आउनुभएको छ ।
सुरुमा २०५२ सालमा पाल्पाको तानसेनमा थानेश्वरले डेरी उद्योग सञ्चालन गर्नुभएको थियो । त्यसपछि तीन जनाको मुख्य लगानीमा २०७० माघ १९ गते महाराजगञ्ज १ कपिलवस्तुमा दुग्ध सङ्कलन केन्द्रको स्थापना भएको थियो । २०७२ सालदेखि भने कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ इमिलियामा मुख्य प्रशोधन केन्द्र स्थापना गरी कम्पनीले बुद्धभूमि ब्राण्डमा विभिन्न प्रकारका दुग्ध एवम् दुग्धजन्य पदार्थहरू उत्पादन गरिरहेको छ ।
कम्पनीले अब नेपालकै ठूलो क्षमता हुने गरी अत्याधुनिक प्रविधि सहितको आफ्नो उद्योग विस्तार परियोजना कार्य समेत अगाडि बढाएको न्यौपानले जानकारी दिनुभयो । त्यस पश्चात् दैनिक २ लाख लिटर दूध प्रशोधन भई धुलो दूध लगायत अन्य प्रकारका दुग्ध एवम् दुग्धजन्य पदार्थ उत्पादन हुने बताइएको छ । यसले थप १ सय जनाले प्रत्यक्ष रोजगारीको अवसर पाउने कम्पनीको भनाई छ ।
पश्चिम नेपालमा ग्लोबल डेरीद्वारा उत्पादित दुग्ध एवम् दुग्धजन्य पदार्थहरूको माग बढेपछि कम्पनीले बुद्धभूमि ब्राण्डका गुणस्तरीय पदार्थ बिक्री वितरण गर्न साउन १ गतेदेखि नेपालगञ्जमा पनि वितरण केन्द्र स्थापना गर्दैछ । कम्पनीले आज नेपालगञ्जमा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी गराएको हो । प्रबन्ध निर्देशक न्यौपानेले पश्चिम नेपालमा अब गुणस्तरीय दुग्ध पदार्थको माग आफूहरूले पूर्ति गर्ने दाबी गर्नुभयो ।
उहाँले कम्पनीले कृषकलाई आवश्यक पर्ने दाना चोकरको व्यवस्था, पशु बिमामा सहयोग, भ्याक्सिनेशनमा सहयोग एवम् सामान्य खालको औषधि उपचारमा पनि सहयोग गर्दै आइरहेको बताउनुभयो । न्यौपानले ग्लोबल डेरीले दुग्ध सङ्कलन केन्द्रहरू विस्तार गरी दुग्ध सङ्कलन कार्य सुरु गरे पश्चात् बाँके र बर्दियामा ‘मिल्क होलिडे’ को समस्या नदेखिएको समेत बताउनुभयो । बाँके र बर्दियामा विगत पाँच वर्षदेखि ३० वटा शाखा दूध सङ्कलन केन्द्र छन् ।
कम्पनीले काठमाडौँमा पनि अर्को प्रशोधन उद्योग सञ्चालन गरिरहेको छ । ग्लोबल डेरीले देश बाहिर पनि बुद्धभूमि ब्राण्डको छुर्पी निर्यात गरिरहेको छ । न्यौपानेले देशमै केही गर्ने हुटहुटीका साथ तीन जना युवा मिलेर यो कार्यमा दत्तचित्तका साथ लागेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्