तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेको नरैनापुरमा एक वर्षमा १ हजारभन्दा बढी वर्थिङ सेन्टरमार्फत सुरक्षित सुत्केरी

बाँके। बाँकेको नरैनापुर गाउँपालिकामा आर्थिक वर्ष २०८१/८२ मा १,१२३ जना महिलाले वर्थिङ सेन्टरमार्फत सुरक्षित सुत्केरी सेवा पाएका छन्।

नरैनापुर वडा नं १ देखि ६ सम्मका वर्थिङ सेन्टरहरूमा चौबीसै घण्टा सञ्चालन भइरहेको प्रसूति सेवाबाट महिलाहरू लाभान्वित भएका हुन्। स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहका अनुसार प्रशिक्षित जनशक्ति र निःशुल्क एम्बुलेन्स सेवामार्फत सुरक्षित सुत्केरी सेवा दिइँदै आएको छ।

“तालिम प्राप्त जनशक्तिबाट चौबीसै घण्टा प्रसूति सेवा दिइँदै आएको छ,” शाहले भन्नुभयो, “वर्थिङ सेन्टरसम्म ल्याउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेका छौं।”

सुत्केरी संख्या अनुसार वडा नं ४ मा सबैभन्दा धेरै २७४ जना, त्यसपछि वडा नं ५ मा २४१, वडा नं १ मा १६९, वडा नं ६ मा १७९, वडा नं २ मा १५० र वडा नं ३ मा ११० जना महिलाले सेवा लिएका छन्।

गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहका अनुसार कुनै समस्या परेमा तत्काल भेरी अस्पतालमा निःशुल्क उपचार गराउने र ल्याउने–लैजाने व्यवस्था पनि मिलाइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button