तपाईँ सुन्दै हुनुहुन्छः

शिवनगर–ईक्राहा जोड्ने पुलको शिलान्यास, दुई वर्षभित्र सम्पन्न हुने

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नम्बर-१० स्थित शिवनगर र ईक्राहा जोड्ने त्रियुगा नदीमा झोलुङ्गे पुल निर्माण हुने भएको छ । झोलुङ्गे पुल निर्माण हुने भएपछि सोमबार पुर्व परराष्ट्र मन्त्री समेत रहनु भएका उदयपुर निर्वाचन क्षेत्र नम्बर-१ का संघीय सांसद डाक्टर नारायण खड्का र चौदण्डीगढी नगरपालिकाका उपप्रमुख मणिकादेवी दुलालले संयुक्त रुपमा पुलको शिलान्यास गर्नुभएको हो ।

चौदण्डीगढी नगरपालिकाको शिवनगर बर्षाको समयमा टापुमा परिणत हुँदै आएको छ । पुर्व पश्चिम जोड्ने राज्यकै गौरवको मदन भण्डारी राजमार्गबाट करिब एक किलोमिटर मात्र दुरीमा रहेको शिवनगर त्रियुगा नदीका कारण बर्षाको समयमा टापुमा परिणत हुँदै आएको थियो ।

सोमबार शिलान्यास भएको उक्त झोलुङ्गे पुलले मदनभण्डारी राजमार्ग सङ्गैको ईक्राहा र शिवनगरलाई जोड्ने छ । उक्त पुल निर्माण सम्पन्न भए सो क्षेत्रका हजारौँ स्थानीयको वर्षौँ देखिको वारिपारिको समस्या समाधान हुने छ ।

सङ्घीय सरकारको स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सस्पेन्सन ब्रिज डिभिजन आयोजना पुलचोक ललितपुरको नौ करोड ६९ लाख ४९ हजार रुपियाँको लागतमा दुई वर्ष भित्रमा झोलुङ्गे पुल निर्माण सम्पन्न गर्नेगरी “थानी निर्माण सेवा काठमाडौँ”ले उक्त पुल निर्माणको जिम्मा लिएको छ । पुलको लम्बाई पाँचसय ५७ मिटर रहने निर्माण कम्पनीले जनाएको छ । 

पुल निर्माणको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै डाक्टर नारायण खड्काले विकासको मेरुदण्ड भनेकै पूर्वाधार निर्माण रहेको बताउनु भयो । उहाँले पुल नहुँदा अनेकौँ समस्यामा रहेका शिवनगर बासीहरूको समस्या समाधानको पहिलो खुड्किलो आज सुरुवात गरिएको बताउनुभयो ।

चौदण्डीगढी नगरपालिका  वडा न-१० मा रहेका क्राहा, खैरहा, शिवनगर, हडिया, अँधेरी लगायतका करिब सातसय घरपरिवारका मानिसहरूलाई यो पुलबाट प्रत्यक्ष लाभान्वित हुने स्थानीयहरूले बताएका छन् ।  

यो पुल निर्माण सम्पन्न भए सँगै विशेषगरी बिरामी, सुत्केरी, विद्यालय जाने र आउने बालबालिका तथा काम कागजका लागि सदरमुकाम गाईघाट तथा आफ्नै पालिकाको केन्द्र र वडा कार्यालय सम्म आवत जावत गर्न झोलुङ्गे पुल नहुँदा निकै समस्या हुने गरेकोमा अव भने उक्त समस्या हटेर जाने निश्चित भएको देवेन्द्र अधिकारीले बताउनुभयो ।

कार्यक्रममा बोल्दै उपप्रमुख दुलालले जनताका समस्या समाधान गर्दै तीनै तहका सरकार र जनप्रतिनिधिहरू उत्तिकै जिम्मेवार भएर काम गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ९ स्थित हडिया ज्यामिरे जोड्ने त्रियुगा नदीमा पनि एउटा झोलुङ्गे पुलको अतिनै आवश्यकता रहेको भन्दै उक्त ठाउँमा समेत पुल निमार्णको लागि स्रोत व्यवस्थापनमा पहल गरिदिन संघीय सांसद खड्का समक्ष माग राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button