‘विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच सहकार्य जरुरी’
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा तीनै तहका सरकारबीच समन्वय र सहकार्य जरुरी रहेको बताउनुभएको छ ।

आज गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले सङ्घ, प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकार बाँडफाँटमा पनि विपद् व्यवस्थापन तीन वटै तहको कार्यक्षेत्रमा पर्ने बताउनुभयो । “हामी उच्च जोखिमपूर्ण भूगोलमा छौँ”, उहाँले भन्नुभयो, “विपद्को सामना र व्यवस्थापनका लागि तीन वटै तहबीच समन्वय र सहकार्य जरुरी छ ।”
सात वटै प्रदेशमा आपत्कालीन गोदाम घरहरू रहेको बताउँदै उहाँले ती गोदाम घर सञ्चालन प्रदेश सरकारले गर्नेगरी हस्तान्तरण गरिएको जानकारी दिनुभयो । “काठमाडौँको गोदाम घर विपद् प्राधिकरणसँग रहन्छ”, उहाँले भन्नुभयो, “छ वटा प्रदेश स्तरका गोदाम घरको सञ्चालन प्रदेश सरकारले गर्नेछन् ।”
नागरिकसँगको सबैभन्दा नजिक स्थानीय जनप्रतिनिधि रहने भएकाले आपत्कालीन गोदाम घरहरू पालिकास्तरमा स्थापना गरेर तल्लो तहसम्म विपद् व्यवस्थापनका लागि सक्षम बनाउनुपर्नेमा गृहमन्त्री लेखकले जोड दिनुभयो । उहाँले विपद् पूर्वसूचना र विपद् पछिको खोज, उद्धार तथा पुनः स्थापनामा सबैले सहकार्य र समन्वय गर्नुपर्ने बताउनुभयो ।
विगतमा विपद्का बेला गोदाम घरबाट सामग्री उपयोग गर्दाको झन्झटिलो प्रक्रियालाई सहज पार्दै गोदाम घर प्रदेश सरकारलाई सञ्चालनको जिम्मेवारी दिइएको उहाँको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्