तपाईँ सुन्दै हुनुहुन्छः

एनटिभी कोहलपुरको २९औँ वार्षिकोत्सव : सार्वजनिक प्रसारण सुदृढ गर्ने प्रतिबद्धता 

बाँके । नेपाल टेलिभिजन कोहलपुरको २९औँ स्थापना दिवस मनाइएको छ । सो अवसरमा सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा.महेन्द्र विष्टले सार्वजनिक प्रसारण सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले सार्वजनिक सेवा प्रसारणको अवधारणा नयाँ युगको यात्रातर्फ संस्था अग्रसर भएको बताउनुभयो । स्थापना कालदेखि हालसम्मको सङ्घर्ष, योगदान र निरन्तर सुधारको यात्रालाई स्मरण गर्दै अध्यक्ष विष्टले आगामी दिनमा एन टिभी जनजनको विश्वासिलो च्यानल बन्ने विश्वास व्यक्त गर्नुभयो।

अध्यक्ष विष्टका अनुसार अब एन टिभी राजनीतिक तटस्थता, पारदर्शिता र व्यावसायिक निष्पक्षताको आधारमा सञ्चालन हुनेछ। राज्यद्वारा सञ्चालित मिडियाको हैसियतमा राष्ट्रिय एकता, समृद्धि र विपद् व्यवस्थापनलाई मूल पिलर बनाउँदै पिएसबी कार्यान्वयनमा तीव्रता दिइने उहाँले बताउनुभयो।

सूचनाको सार्वभौमिक पहुँच, समावेशी कार्यक्रम तथा सङ्कटकालीन अवस्थामा नागरिक सुरक्षामा टेलिभिजनको भूमिका थप सशक्त बनाइनेछ। रेडियो, टेलिभिजन र डिजिटल माध्यमलाई समानान्तर ढङ्गले प्रयोग गरी सबै वर्ग र समुदायसम्म पुग्ने लक्ष्य तय गरिएको छ।

उहाँले एन टिभी कोहलपुर स्थापना कालदेखि अहिलेसम्मको यात्रामा साथ दिने सम्पूर्ण कर्मचारी, दर्शक, श्रोता र विज्ञापनदातालाई धन्यवाद दिँदै आगामी दिनमा सहकार्य र समर्थन जारी राख्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो “एन टिभी अब जनताको आवाज, समस्या र आकाङ्क्षालाई सशक्त ढंगले उठाउने मञ्च हुनेछ। सार्वजनिक सेवा प्रसारण अब राष्ट्रिय एकताको भाव विस्तार गर्ने माध्यम हो।”

२९औँ वार्षिकोत्सवको अवसरमा एन टिभी कोहलपुरको योगदानको कदर गर्दै संस्था अझ प्रभावकारी र जनउत्तरदायी बन्ने मार्गमा अघि बढ्ने धारणा उहाँले राख्नुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button