मन्त्री द्वयद्वारा खडेरी प्रभावित क्षेत्रको अनुगमन
वीरगञ्ज । बीरगंज लगायत तराई मधेसमा लामो खडेरीका कारण चापाकल सुकेर खानेपानीको सङ्कट गहिरिँदै गएपछि आज खानेपानी मन्त्री प्रदीप यादव र कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ ।

खानेपानी समस्याले सङ्कटग्रस्त वीरगन्ज महानगरपालिकाका विभिन्न वडामा पुगेर सङ्घीय सरकारका दुई मन्त्रीले संयुक्त रूपमा खानेपानी समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित खानेपानी मन्त्री यादव र पर्सा क्षेत्र नम्बर २ बाट निर्वाचित कानुन मन्त्री चौरसियाले वीरगन्ज महानगरपालिकाको वडा नम्बर ६, ९ र १० का टोलहरूमा स्थलगत निरीक्षण गर्नुभएको थियो ।
टोलीमा मधेस प्रदेशसभा सदस्य श्याम पटेलको पनि सहभागिता रहेको थियो । अनुगमनका क्रममा मन्त्री यादव र चौरसीयाले स्थानीय जनप्रतिनिधि र प्रभावित बासिन्दासँग भेटघाट गरी खानेपानी सङ्कटले जनजीवनमा पारेको असरबारे जानकारी लिनुभएको थियो ।
सो अवसरमा खानेपानी मन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका कारण मधेस प्रदेशका पर्सा, बारा, रौतहट लगायत जिल्लामा चापाकल सुकेर खानेपानीको हाहाकार भएको बताउँदै सरकार पिडित जनताको साथमा रहेकोमा जोड दिनुभयो ।
सो अवसरमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले आफ्नो निर्वाचन क्षेत्रका बासिन्दाको दुखसुख बुझ्न र समाधानका लागि पहल गर्न अनुगमनमा सहभागी भएको बताउनुभयो ।
मन्त्री चौरसीयाले कठिन परिस्थितिमा धैर्य र संयम राख्दै सबैको सहकार्यबाट समाधान सम्भव भएको उल्लेख गर्नुभयो ।
लामो समयदेखि वर्षा नहुँदा खानेपानीका चापाकल सुकेपछि वीरगञ्जमा खानेपानीको चरम अभाव भएको छ । तत्काल राहतका लागि खानेपानी मन्त्रालय र वीरगञ्ज महानगरपालिकाले प्रभावित वडाहरूमा डीप बोरिङ जडान र ट्याङ्कर मार्फत पानी वितरणको कार्यलाई तीव्रता दिँदै आएका छन् ।
सङ्घीय सरकारका कानुन र खानेपानी मन्त्रीको समन्वयले वीरगन्जमा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि आवश्यक पहल हुने अपेक्षा नगरवासीले लिएका छन् ।
प्रतिक्रिया राख्नुहोस्