तपाईँ सुन्दै हुनुहुन्छः

बाढीले कुलो बगाउँदा लेलेपका दुई सयभन्दा बढी परिवार विद्युत् सेवाविहीन, मर्मत सुरु

ताप्लेजुङ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका वर्षासँगै बिहीबार आएको बाढीले क्षति पुर्‍याएका लघु जलविद्युतको मर्मतको काम आज देखि सुरु भएको छ ।

गाउँपालिका वडा न-६ लेलेपको थाक्पाखोलामा आएको बाढीले लघु जलविद्युतको कुलो बगाउदा दुई सय बढी घरपरिवार विद्युत् सेवाबाट वञ्चित बनेसँगै मर्मतका काम सुरु भएको हो । लेलेपको थाक्पाखोलामा आएको बाढीले एक सय ५० मिटर भन्दा बढी कुलो बगाएसँगै विद्युत् सेवा अवरुद्ध भएको थियो ।

 विद्युतको कुल मर्मतका लागि एक महिना बढी समय लाक्न सक्ने वडाध्यक्ष पेम्बा टाँसी शेर्पाले जानकारी दिनुभयो । पहरामा ड्रिलिङ र आरसीसी गरेर कुलो जोड्नु पर्ने भएकोले मर्मतमा समय लाग्ने भएको छ । विद्युत् सेवा अवरुद्ध हुँदा स्थानीय एक महिना बढी अँध्यारोमा बस्न बाध्यता रहेको समेत अध्यक्ष शेर्पा बताउनुहुन्छ ।  

कुलो मर्मतका लागि २० लाख रुपैंया लाग्ने भएकोले यसका लागि पालिकाको विपत् व्यवस्थापन कोषबाट पाँच लाख, रिभर साइड हाइड्रो पावर कम्पनीले फलामको रड उपलब्ध गराउने र पालिकाले दिएको पैसाले सिमेन्ट, बालुवा व्यवस्थापन गर्ने र बाँकी काम जनश्रमदान गर्ने अध्यक्ष शेर्पाको भनाई छ । 

यता सो दिन नै आएको बाढीले ओलाङचुङगोला जाने सडक, लावाजिन जाने पैदल यात्रीका लागि बनाइएका दुईवटा आरसीसी पुल बगाएको र लावजी र टाँसी गाउँ जोडने झोलुङ्गे पुलमा क्षति पुर्याएको र सो क्षेत्रको कृषि सडक पनि बाढीले बगाएको अध्यक्ष शेर्पाको भनाई छ । बाढीले ओलाङचुङगोला जाने काठे पुलमा क्षति गरेसँगै यातायात सेवा अवरुद्ध भएको छ । 

थाक्पाखोलाबाट तीन वर्षअघि ५२ किलोवाट विद्युत् उत्पादन गरिएको थियो । यसले २ सय ६२ घरधुरीलाई विद्युत् सेवा उपलब्ध गराउँदै आएको थियो । सो क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन पुगेको छैन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button