खडेरीका कारण उत्पन्न खानेपानीको समस्या चाँडै समाधान हुन्छ: मन्त्री यादव
वीरगञ्ज । खानेपानी मन्त्री प्रदीप यादवले तराई–मधेस क्षेत्रमा जलवायु परिवर्तनको प्रतिकूल असर स्वरूप परेको खडेरीका कारण स्थानीय बासिन्दाहरूले अत्यन्तै पीडा र खानेपानीको अभाव भोग्न बाध्य भएकोमा दुख प्रकट गर्नुभएको छ ।
खानेपानी समस्याको यथार्थ स्थिति बुझ्न र समाधानको उपाय अवलम्बन गर्न आफु तीन दिनदेखि पर्सा जिल्लाका विभिन्न खानेपानी प्रभावित क्षेत्रहरूको निरन्तर अनुगमन तथा निरीक्षणमा जुटिरहेको बताउँदै मन्त्री यादवले खानेपानीको संकट चाँडै समाधान गरिने बताउनुभयो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २ अन्तर्गतका छपकैयाँ, घुसुकपुर लगायतका क्षेत्रहरूमा आज बिहानैदेखि स्थलगत अवलोकन गर्दै मन्त्री यादवले खानेपानी सङ्कटबारे प्रत्यक्ष जानकारी समेत लिनुभएको थियो ।
सो अवसरमा मन्त्री यादवले स्थानीय तहसँग सहकार्य गर्दै स्रोत परिचालन, दीर्घकालीन योजना निर्माण तथा रणनीति तय गर्ने गृहकार्यमा मन्त्रालय जुटिसकेको जानकारी दिनुभयो ।
मन्त्री यादवले सङ्कटको घडीमा आफु सधैँ जनताको साथमा रहेको बताउँदै वीरगन्ज सहित तराई–मधेसमा देखिएको खानेपानीको समस्या समाधानमा कुनै कसर बाँकी नराखिने दाबी समेत गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्