तपाईँ सुन्दै हुनुहुन्छः

‘राष्ट्रिय महाधिवेशनले पारित गरेको विषयमा प्रश्न उठाउनु सङ्गठनात्मक अराजकता’

काठमाडौँ I नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनले पारित गरेको विधानका विषयमा प्रश्न उठाउनु सङ्गठनात्मक अराजकता भएको बताउनुभएको छ । 

आगामी भदौमा हुने भनिएको विधान महाधिवेशनको तयारीका सन्दर्भमा  आज ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जनसङ्गठनका इन्चार्ज र पदाधिकारीहरूको भेलालाई सम्बोधन गर्दै उहाँले आफू सहभागी भएर पारित गरेको विधानका बारेमा प्रश्न उठाउनु सङ्गठनात्मक अराजकता भएको बताउनुभयो । 

महासचिव पोखरेलले विधान महाधिवेशनले अन्तिम रूप दिएका कतिपय प्रावधान तत्कालीन आवश्यकताका आधारमा  राष्ट्रिय महाधिवेशनले संशोधन गर्न सक्ने धारणा राख्नुभयो । “दुवै महाधिवेशनका प्रतिनिधि भएर त्यस्ता प्रावधान आफैँ अनुमोदन गर्ने अनि अहिले आफैँ प्रश्न गर्दै हिँड्ने कुरा अनैतिक हो,” उहाँले भन्नुभयो, “राष्ट्रिय महाधिवेशनले पास गरेका विषयमा टिप्पणी गर्दै हिँड्ने कुरा अनुशासनहीन र अराजक हो । जसले यस्ता गतिविधि गर्दछ त्यसको प्रतिवाद गर्नुपर्दछ ।”

उहाँले पार्टी र नेतृत्व विरुद्धको आक्रमण गत वर्ष पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेदेखि झनै बढेको बताउनुभयो । एमाले सरकारमा रहेको धेरैलाई मन नपरेकाले अनेक लाञ्छना लगाएर हरेक दुई महिनामा सरकार परिवर्तनको हल्ला फैलाइने गरेको उहाँको भनाइ छ ।

“विधान महाधिवेशन हो राष्ट्रिय महाधिवेशन होइन । त्यसैले अहिले कुनै नेताका नाममा कित्ताकाट हुनु जरुरी छैन”, उहाँले भन्नुभयो, “जतिबेला जे काम पर्छ त्यही गर्नुहोस् । नीति र नेतृत्व निर्माणको भिन्नता नेताहरूले थाहा पाउनुहोस् ।”

महासचिव पोखरेलले जनसङ्गठनमा हालै भएका महाधिवेशनका दस्ताबेज केन्द्रीय कार्यालयमा साता दिनभित्र पठाउन निर्देशनसमेत दिनुभयो । पार्टी स्थायी कमिटी सदस्य एवं जनसङ्गठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले पार्टीको निर्णयविरुद्ध नबोली नेता भइँदैन भन्ने मानसिकता त्याग्न आग्रह गर्नुभयो । भेलालाई केन्द्रीय सदस्यद्वय विष्णु रिजाल, रचना खड्कालगायतले पार्टीको विधि र विधान विपरीत नबोल्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button