प्रतिनिधिसभा बैठक: बाढी, पहिरो र डुबानबाट भएको क्षतिका विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले देशका विभिन्न भागमा बाढी, पहिरो डुबानबाट भएको क्षति र विपद्बाट हुन सक्ने क्षति न्युनिकरणका सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकमा सांसदहरुले भोटेकोसी त्रिसुली लगायतका क्षेत्रमा विपद् जोखिम बढेकाले जोखिम न्यूनीकरणका लागि साइरन लगायतका पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउन माग गर्नुभयो ।
सांसद राजेन्द्र बजगाईले भोटेकोसीमा आएको बाढी र तिब्बतमा भएका बाँधहरू जोखिममा रहेको भनेर आएका विषयहरूमा चीनसँग कूटनीतिक रुपमा छलफल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद नारायणप्रसाद आचार्यले बुटवलबाट पाल्पाको रामपुर जाँदै गरेको मोटरसाइकलमा सवार जनक भण्डारीको पहिरोमा परि निधन भएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सिद्धबाबा सडक खण्डमा सुरक्षित यात्राका लागि व्यवस्थित गर्न माग गर्नुभयो ।
सांसद माधव सापकोटाले भोटेकोसीमा आएको बाढी र यसबाट भएको क्षतिका विषयमा सदनमा जानकारी गराउन सरकारकारसँग माग गर्नुभयो ।
सांसद सापकोटाले चिनिया पक्षले नेपाललाई संभावित बाढी पहिरोका बारेमा सचेत गराएको अवस्थामा पनि क्षति भएको भन्दै उक्त क्षेत्रमा साइरन र विपद्को पूर्व सूचनाको ठिक ढंगले व्यवस्थापन गर्न माग गर्नुभयो ।
उहाँले चीनसँग सीमा जोडिएका क्षेत्रहरूमा रहेका हिमतालहरू उच्च जोखिममा रहेको र जुनसुकै समयमा दुर्घटना हुन सक्ने भन्ने विषयतर्फ नेपाल सरकारले चिनिया सरकारसँग गम्भीरतापूर्वक वार्ता र संवाद गरी सूचना आदान प्रदानलाई सक्रिय बनाउने र संभावित जोखिम न्युनिकरणका लागि पूर्व तयारी गर्न जरुरी रहेको बताउनुभयो ।
उहाँले भोटेकोसीमा आएको विपद्पछि करिब २ सय जना नेपालीको विशेष प्रक्रिया अपनाएर उद्धार गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद नारायण प्रकाश साउदले ग्लोबल वार्मिङका कारण मौसममा आएको परिवर्तनले विपद्को जोखिम निम्तिन सक्ने विषयमातर्फ सरकार समयमा नै गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले धान रोप्ने समयमा मल उपलब्ध हुन नसक्दा किसानहरु मर्कामा परेको भन्दै समयमा नै मल उपलब्ध गराउन सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।
सांसदहरु रणेन्द्र बराइली, शेरबहादुर कुवर शान्ती विकलगायतले बाढी, पहिरो, डुबान, जोखिम न्युनिकरण, विपद्मा परेकाहरूको उद्धार र राहतका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै बैठक आज नि प्रतिनिधि सभा बैठक बहिस्कार गरेका छन् ।

बैठकको सुरुमा रास्वपाका सांसद सोभिता गौतम र राप्रपाका सांसद अनिशा नेपालीले भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानविन समिति नबनेसम्म विरोध जारी रहने बताउनुभयो ।
बैठकमा रास्वपाका सांसद गौतमले आफूले मङ्गलवारको प्रतिनिधिसभा बैठकमा बोलेको धारणा नेपाली भाषा बुझाइमा समस्या भएकाहरूले मात्रै नबुझेको बताउनुभयो ।
नेकपा एमालेको सचेतक सुनिता बरालले प्रधानमन्त्री दल विशेषको मात्रै नभई राष्ट्रको कार्यकारीका हिसाबले कार्यक्रममा सहभागी भएकाले त्यस विषयमा टिप्पणी गर्दा गम्भीर बन्नुपर्ने बताउनुभयो ।
संसदबाट अफवाह फैलाउने, गलत कुराको प्रचार गर्ने, गलत टिप्पणी गर्ने ठाउँ होइन भन्दै सचेतक बरालले तथ्यका आधारमा स्पष्ट भाषामा हेक्का पूर्वक विषय राख्न आग्रह गर्दै आवश्यकता परे प्रधानमन्त्रीसँग गएकाहरूको फेहरिस्त दिन तयार रहेको स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्