तपाईँ सुन्दै हुनुहुन्छः

सिस्ने खोलामा बेलिब्रिज निर्माण सम्पन्न, स्थानीयलाई आवतजावतमा सहज

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिकाको सिमानामा रहेको सिस्ने खोलाको पुल निर्माण सम्पन्न भएसँगै मोटर गुड्ने थालेको छ । 

कुल २७.५ मिटर लम्बाई भएको बेलिब्रिज निर्माण सम्पन्न भएसँगै मङ्गलवार देखि पुल माथिबाट यातायात सञ्चालनमा आएको हो । बेलिब्रिज निर्माणसँगै जिल्ला सदरमुकाम र फक्ताङलुङ गाउँपालिकाका स्थानीयलाई आवतजावतमा सहज भएको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बुले जानकारी दिनुभयो । 

माथिल्लो तमोर जलविद्युत आयोजनाले निर्माण गरेको  बेलिब्रिज निर्माणका लागि  चार करोड ५० लाख रुपियाँको लागतमा ४० टन भार वहन क्षमताको पुल निर्माण गरिएको माथिल्लो तमोर जलविद्युत आयोजनाका संयोजक सम्झाना क्षेत्रीले बताउनहुन्छ । सिस्ने खोलामा बेलिब्रिज निर्माण भएसँगै निर्माणाधीन तमोर कोरिडोर सहित सो क्षेत्रका सडकमा यातायात सञ्चालनमा सहज हुने भएको छ ।

पुल निर्माण सम्पन्न भएसँगै फक्ताङलुङ गाउँपालिकाका सात वडाका १२ हजार १७ जनसङ्ख्या मात्र नभई तिब्बतसँगको सिमाना टिताला जोडिने तमोर कोरिडोर सडक सञ्चालनमा समेत सहज हुने अध्यक्ष लिम्बुले जानकारी दिनुभयो । 

पुल निर्माण सम्पन्न भएसँगै दैनिक उपभोग्य बस्तु आयत गर्न, नियमित एम्बुलेन्स सेवा सञ्चालन गर्न पालिकाबाट उत्पादित कृषिउपज बस्तुको निर्यात गर्न सहज भएको अध्यक्ष लिम्बु बताउनहुन्छ । साथै हिमाली पर्यटकीय क्षेत्र विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा, सिजेमा ताल, ओलाङचुङगोला लगायत क्षेत्रमा पुग्न समेत सहज हुने भएको छ ।   

बेलिब्रिज निर्माणसँगै अब हिउँद बर्खा दुवै मौसम यातायात सञ्चालनमा हुने भएको हो । फक्ताङ्लुङ गाउँपालिकास्थित तमोर नदीमा तमोर इनर्जी प्रालिले २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजना निर्माण गर्न सुरु गरेको छ । आयोजनाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिस्ने खोलामा बेलिब्रिज निर्माण, फुरुम्बो खोलामाथि कल्भट निर्माण साथै तावा खोलामा समेत कल भट निर्माण गरी पालिकालाई यातायातको पहुँचसँग जोडेको लिम्बु बताउनहुन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button