आज पनि गण्डकी प्रदेशका आकस्मिक बाहेकका स्वास्थ्य सेवा प्रभावित

पोखरा । नेपाल चिकित्सक संघ केन्द्रीय समितिको आह्वानमा सुरु भएको बिरोध कार्यक्रम अन्तर्गत आज(मङ्गलवार) पनि गण्डकी प्रदेश सहित देशभर आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा प्रभावित भएको छ । चिकित्सकहरू नै आन्दोलनमा उत्रिँदै ओपिडी सेवा ठप्प पारे पछि सेवाग्राहीले सास्ती भोग्नु परेको छ ।
गण्डकी प्रदेशभरका सरकारी तथा निजी अस्पताल, मेडिकल कलेज, प्रतिष्ठान, विश्वविद्यालय अन्तर्गतका अस्पताल, गैरसरकारी संस्था तथा निजी क्लिनिकहरूले आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्दै चिकित्सकहरू आन्दोलित भएसँगै आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा मङ्गलवार पनि प्रभावित भएको हो ।
नेपाल चिकित्सक संघ गण्डकीले सबै स्वास्थ्यकर्मी, अस्पताल प्रशासन र साथ दिने संघ संस्थाहरू प्रति धन्यवाद ज्ञापन दिँदै आज पोखरामा कोण सभा समेत आयोजना गर्यो । पोखराको पृथ्वी चोकमा प्रदर्शन सहित कोण सभामा संघ गण्डकीका सल्लाहकारहरू डा.बुद्धिबहादुर थापा, डा. माधवबाबु तिवारी, डा.बसन्त ताम्राकार,डा.गिरीधारी शर्मा, डा.निर्मल लामिछाने लगायतले राज्यले चिकित्सकहरूको माग पूरा नगरेसम्म आफूहरूले जस्तो सुकै आन्दोलन गर्न पछि नपर्ने चेतावनी दिनु भएको थियो । केन्द्रको निर्देशन अनुसार आफूहरू समेत आन्दोलित भएको बताउँदै संघ गण्डकीका अध्यक्ष डा.सुनिल पनेरुले सरकारले वार्ताबाट आफूहरूको माग पूरा नगरेसम्म आन्दोलन जारी रहने जनाउनु भयो ।
सङ्घको प्रमुख माग उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २ मा रहेको अस्पष्टता हटाई चिकित्सकीय सेवाको परिभाषा स्पष्ट पार्नुपर्छ भन्ने रहेको छ । यस्तै, चिकित्सा पेसाको नियमन नेपाल मेडिकल काउन्सिलबाट नै हुनुपर्ने, त्रुटि वा लापरबाहीको छानबिन विज्ञहरूबाट गर्नुपर्ने, र कानुनमा पहिल्यै क्षतिपूर्तिको व्यवस्था भएकाले थप प्रावधान आवश्यक नरहेको सङ्घको भनाइ रहेको छ ।
सङ्घले हालको कानुनी अन्योलताले चिकित्सकहरू उपचारमा मनोवैज्ञानिक दबाबमा पर्ने, अनावश्यक परीक्षण गर्नुपर्ने र बिरामीको उपचार लागत बढ्ने खतरा रहेको भन्दै ध्यानाकर्षण गराउँदै आएको छ । नेपाल चिकित्सक सङ्घले आन्दोलनका कारण आम सर्वसाधारणलाई परेको असुविधा प्रति क्षमा माग्दै यसको जिम्मेवारी राज्यको रहेको स्पष्ट पारेको छ । गण्डकी प्रदेशमा करिब ६ सय चिकित्सकहरू रहेको संघ गण्डकीका सचिव डा.नवराज लम्डारीले बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्