उदयपुरका सात पालिकामा लम्पी स्किन रोग फैलियो
उदयपुर । उदयपुर जिल्लाका आठ पालिका मध्ये ७ पालिकामा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको छ ।

जिल्ला स्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गाईघाटका प्रमुख सुकराज लिम्बुका अनुसार जिल्लाको सात पालिका मध्ये उदयपुरगढी गाउँपालिकामा अहिले सम्म लम्पी स्किन रोगको सङ्क्रमण देखा परेको छैन । अन्य सात पालिकामा भने लम्पी स्किन रोग सङ्क्रमित पशुमा फेला परेको छ ।

लिम्बुका अनुसार हाल सम्म उदयपुरमा २ सय ४४ वटा पशुमा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण उदयपुरको त्रियुगा नगरपालिकामा ७८, कटारी नगरपालिकामा ७४, ताप्ली गाउँपालिकामा २८, रौतामाई गाउँपालिकामा २७, लिम्चुङबुङ गाउँपालिकामा २१, चौदण्डीगढी नगरपालिकामा ११ र बेलका नगरपालिकामा ५ पशु बस्तुमा देखिएको छ ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गाईघाटका सहायक पाँचौँ मिन प्रसाद सुवेदीकाअनुसार यस अघि जिल्लामा १५ हजार ४ सय ३ वटा पशुमा लम्पी स्किन रोग विरुद्धको खोप लगाइएको थियो । उहाँकाअनुसार खोप लगाइएको पशुमा अहिले सम्म रोग फैलिएको छैन ।
उदयपुरमा ८६ हजार ९ सय ६४ गाई, ३९ हजार ४ सय तीन भैँसी, ८०८ भेडा, ३ लाख ४६ हजार ८२९ बाख्रा, ८७ हजार ७ सय १० बङ्गुर, ७ लाख ६५ हजार ७५० कुखुरा र १६ हजार ५१० हाँस रहेको तथ्याङ्क भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गाईघाट सँग रहेको छ ।
लम्पी स्किन रोग विशेष गरी गाई, गुरु, राँगा, भैँसी, पाडापाडी, बाच्छाबाच्छीमा लाग्ने बताइएको छ । यो रोगबाट उन्नत नश्लका बढी उत्पादन दिने पशु बढी प्रभावित हुने गरेको विज्ञको भनाइ छ । हाल सम्म यो रोग भेडा बाख्रामा लागेको तथ्याङ्क छैन ।
लम्पी स्किन रोग लामखुट्टे, वा रगत चुस्ने झिँगा (डास), किर्ना, भुसुना र विभिन्न किराहरूबाट सर्ने गर्छ भने सङ्क्रमित पशुको प्रत्यक्ष सम्पर्कमा आएका अन्य पशु, लसपस भएको दानापानी, सोतरहरुबाट समेत सर्ने गरेको पशु विशेष डाक्टरहरूको भनाई छ ।
उदयपुरमा सङ्क्रमण फैलिन नदिनको लागि पशुपालक कृषकलाई सतर्क रहन र पशुमा लक्षण देखिएमा तत्काल जानकारी गराउन समेत आग्रह गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्