जीटुजी प्रक्रियाबाट आयात गरेको ३० हजार मेट्रिक टन युरिया मल वीरगन्ज आउन शुरु
वीरगन्ज । असारे धानबाली लाई लक्षित गर्दै सरकारले भारतसँग सरकार–सरकार (जीटुजी) प्रक्रियाबाट आयात गरेको ३० हजार मेट्रिक टन युरिया मल भारतको कोलकाता बन्दरगाहबाट रेल मार्फत वीरगन्ज आउने क्रम शुरु भएको छ ।
एक साता अगाडी भारतको कोलकाता बन्दरगाह आइपुगेको मल नेपाल ल्याउन बोरामा प्याकिङ गर्ने काम सम्पन्न भएसँगै वीरगन्ज आउने क्रम शुरु भएको कृषि सामग्री कम्पनी मधेश प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दुर्गाप्रसाद पाण्डेले बताउनुभयो ।

आदित्य बिरला कम्पनीले यो मल भारतबाट नेपालसम्म ल्याउन लागेको हो । भारत सरकारबाट उक्त कम्पनीले यो कन्साइन्मेन्टको मल आपूर्तिको ठेक्का पाएको थियो । यसअघि कृषि सामग्री कम्पनीको ३० हजार मेट्रिक टन युरिया मल आयात गरी वितरण समेत गरिसकेको छ ।
अब भित्रिने कम्पनीको ३० हजार र साल्ट ट्रेडिङको ३० हजार मेट्रिक टन युरिया मलको आपूर्तिकर्ता सन इन्टरनेसनल रहेको छ । यसले कतारबाट एउटा जहाजमा हाल ३५ हजार मेट्रिक टन मात्र मल ल्याएकाले तत्काललाई दुवै संस्थानले १६÷१६ हजार मेट्रिक टन मात्र युरिया मल पाउने पाण्डेले बताउनु भयो ।
आपूर्तिकर्ता कम्पनीले दोस्रो पानीजहाजबाट बाँकी मल ल्याएपछि उक्त कन्साइन्मेन्टको मल क्रमशः नेपाल भित्रिनेछ । हाल आइरहेको १६ हजार मेट्रिक टन युरियामध्ये वीरगन्ज कार्यालयले ६ हजार ७ सय मेट्रिक टन पाउनेछ । बाँकी भैरहवा एवं विराटनगर प्रादेशिक कार्यालयले भागबन्डा गर्नेछन् ।
निरन्तर रूपमा युरिया मल भित्रिन थालेको र ‘जीटुजी’को मल पनि आएसँगै असारे धान बालीलाई युरिया मलको माग पूरा हुनेमा आफू आशावादी रहेको पाण्डेले दाबी गर्नुभयो ।
यसअघि कम्पनीको कोलकाता बन्दरगाहबाट वीरगन्ज आइपुगेको २१ हजार ५ सय टन युरिया मल र ९ हजार ५ सय टन डिएपीमल वीरगन्जबाट मधेश,बाग्मती र गण्डकी प्रदेशलाई वितरण गरिएको कृषि सामग्री कम्पनी मधेश प्रादेशिक कार्यालयका प्रमुख दुर्गा पाण्डेले जानकारी दिनुभयो ।
कम्पनीको ३५ हजार मेट्रिक टन डिएपी र ३० हजार मेट्रिक टन युरिया पाईपलाईनमा रहेको र सो मल समेत साउनको पहिलो साता वीरगन्ज भित्रिन लागेकाले मधेश, बागमती र गण्डकी प्रदेशका जिल्लामा युरिया र डिएपी मलको सहज उपलब्धता हुने दाबी पाण्डेले गर्नुभयो । रासस
प्रतिक्रिया राख्नुहोस्