तपाईँ सुन्दै हुनुहुन्छः

मध्यपहाडी राजमार्गको जाजरकोट खण्ड र भेरी पुल निर्माण तीव्र रुपमा अघि बढाउन निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले मध्य पहाडी राजमार्गको जाजरकोट खण्ड र भेरी नदीको पुल यथाशीघ्र निर्माण सम्पन्न गर्न निर्देशन दिएको छ । 

समितिको आज संसद् सचिवालय सिंहदरबारमा बसेको बैठकले विभिन्न समस्या देखाएर निर्माण कम्पनीले राजमार्ग र पुल निर्माणमा ढिलासुस्ती गरेको भन्दै चाँडो सक्ने गरी काम अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । 

बैठकमा सांसदहरु ठाकुर गैरे, प्रकाश ज्वाला, शक्तिबहादुर बस्नेत प्रतिमा आचार्यलगायतले विभिन्न समस्या देखाएर राष्ट्रिय गौरवका आयोजनाहरू निर्माणमा ढिलाइ गर्न नहुने बताउनुभयो । 

उहाँहरूले भेरी नदीमा बन्ने पुल नबन्दा स्थानीयलाई समस्या परेको भन्दै काममा ढिलाइ गरे आयोजनाको सम्झौता ताड्नुपर्नेमा जोड दिनुभयो । 

बैठकमा सडक विभागका महानिर्देशक डा.विजय जैशीले वर्षाका कारण निर्माणमा अवरोध भएको र वर्षापछि निर्माण कार्यलाई तीव्रता दिइने बताउनुभयो । 

त्यसैगरी मध्यपहाडी राजमार्ग आयोजना प्रमुख गोविन्द दासले मध्यपडाही राजमार्ग अन्तर्गत जाजरकोट सडकखण्डको मन्ता भिरमा कडा चट्टान रहेकाले ट्रयाक मात्रै खोलिएको र पुनः सर्भे गरी निर्माणको मोडल परिवर्तन गर्नुपर्ने जानकारी गराउनुभयो । 

उहाँले उक्त खण्डको दुई दशमलव सात किलोमिटर सडक कालोपत्रे भइसकेको र एक दशमलव तीन नौ  किलोमिटर ग्रेड सुधार कार्य जारी रहेको जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button