मधेश प्रदेशमा बागवानी तथा तरकारीको क्षेत्र विस्तार
जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा तरकारी तथा बागवानी हुने क्षेत्रफलमा भारी मात्रामा वृद्धि भएको छ । मधेश प्रदेशमा बागवानी तथा तरकारी खेती तर्फ ८.८८ प्रतिशतले क्षेत्र विस्तार भएको हो ।
अहिले तरकारी तथा बागवानीको क्षेत्रफल ६७ हजार १ सय ५६ हेक्टर पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा तरकारी तथा बागवानीले ढाकेको क्षेत्रफल १०.३२ प्रतिशतले वृद्धि भई ६१ हजार ६ सय ८० हेक्टरमा खेती भएको नेपाल राष्ट्र बैङ्कको मधेश प्रदेशको आर्थिक गतिविधि सम्बन्धि अर्धवार्षिक प्रतिवेदनमा उल्लेख रहेको छ ।
तरकारी तथा बागवानीले ढाकेको क्षेत्रफल महोत्तरी जिल्लामा सबैभन्दा बढी रहेको छ भनने सबैभन्दा कम रौतहटमा रहेको छ । महोत्तरी जिल्लामा १५ हजार २ सय ५० हेक्टर अर्थात् मधेश प्रदेशको २२.७१ प्रतिशत र रौतहट जिल्लामा सबैभन्दा कम २ सय हेक्टर अर्थात् मधेश प्रदेशको ०.३० प्रतिशतले ढाकेको छ ।
जिल्लागत रुपमा हेर्दा सप्तरी जिल्लामा चालु आर्थिक वर्षमा १६.६८ प्रतिशतले वृद्धि भएको छ । सप्तरी जिल्लामा यस पटक तरकारी र बागवानीले ११ हजार ३ सय हेक्टर क्षेत्रफलमा विस्तार भएको छ । सप्तरीमा आर्थिक वर्ष २०८०।०८१ मा ८ हजार ८ सय हेक्टरमा मात्र तरकारी र बागवानी रहेका थिए ।
यसैगरि पर्सा जिल्लामा पनि बागवानी तथा तरकारी खेती हुने क्षेत्रफलमा वृद्धि भएको छ । पर्सा जिल्लामा क्षेत्र विस्तार भएर १०.२७ प्रतिशत भूभाग तरकारी र बागवानीले ढाकेको छ । गत वर्ष पर्सा जिल्लामा ४ हजार ५ सय हेक्टरमा तरकारी खेती हुने गरेकोमा अहिले आएर वृद्धि भई ६ हजार ८ सय ९४ हेक्टरमा पुगेको छ । अहिले अन्य बालीको खेती गर्दा लागत अनुसारको मूल्य नउठेपछि बागवानी तथा तरकारी तर्फ सर्वसाधारणको आकर्षण बढेको छ ।
तरकारी भन्दा पनि फलफूलको वोर्ट लगाउने चलन बढेको छ । धान तथा तरकारी खेती छाडेर बागवानी लगाउने प्रचलन अत्यधिक मात्रामा वृद्धि भएको छ । बागवानीका लागि कम परिश्रम लाग्ने तथा सिँचाइका लागि पानी पनि कम आवश्यक भएकाले बागवानी लगाउने चलन बढेको छ ।







प्रतिक्रिया राख्नुहोस्