वर्षाले कञ्चनपुरका विभिन्न क्षेत्र डुबानमा, दर्जनौँ घर प्रभावित
कञ्चनपुर । निरन्तर परिरहेको भारी वर्षाका कारण कञ्चनपुर जिल्लाका विभिन्न स्थानहरू डुबानमा परेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार बेलौरी क्षेत्रमा मात्रै पछिल्लो २४ घण्टामा २६७ मिलिमिटर वर्षा मापन गरिएको छ, जुन अति भारी वर्षा श्रेणीमा पर्छ ।

प्रशासनले डुबान जोखिम उच्च रहेको भन्दै प्रभावित क्षेत्रका नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ । महाकाली नदीमा पानीको बहाव अघिल्लो दिनको तुलनामा घट्दै गएको छ भने सोमबार दिउँसो ६७,८२० क्युसेक मापन गरिएको छ । यद्यपि, हाल पनि केही स्थानहरूमा हल्का वर्षा जारी रहेकाले रातिको समयमा थप सतर्कता अपनाउन आग्रह गरिएको छ ।
हालको अवस्था हेर्दा कञ्चनपुर जिल्लामा वर्षा जारी रहेकोले उक्त क्षेत्रका नदीनाला तथा होचा भू-भागमा डुबानको सम्भावना कायमै छ । प्रहरी प्रशासनले माछा मार्न खोला नालातिर नजान, जथाभाबी हिँडडुल नगर्न तथा कुनै क्षति भएमा नजिकको प्रहरी चौकी वा १०० मा तुरुन्त जानकारी गराउन सबै नागरिकहरूलाई आग्रह गरेको छ ।

कृष्णपुर नगरपालिका-५, पवित्र बस्ती बस्ने आरती बि.क.को घरमा पानी पसेपछि चार जनाको परिवार नजिकै रहेको पवित्र आधारभूत विद्यालयमा सारिएको छ । घटनास्थलमा अस्थायी प्रहरी चौकी गजरौलाबाट प्रहरी टोली खटिएको छ । कृष्णपुर नगरपालिका७, कार्की कटानमा गोदावरी खोलाको पानी जस्ताले छाएको काठको कच्ची घरमा पसेपछि कमला पार्कीको घर जोखिममा परेको छ । उनीसहित दुई जना आफ्नै अर्को घरमा स्थानान्तरण भएका छन् । इलाका प्रहरी कार्यालय रैकवारबाट टोली परिचालित गरिएको छ ।

पुनर्वास नगरपालिका-५, पशुपति चोक बस्ने कल्पना रिमालको घरसहित करिब ६/७ वटा घर डुबानमा परेका छन् । त्रिभुवन बस्ती प्रहरी चौकीबाट खटिएको टोलीले डुबानमा परेका घरधुरीहरूलाई सुरक्षित स्थानतर्फ छिमेकीका घरहरूमा स्थानान्तरण गरिरहेको छ । मानवीय तथा भौतिक क्षति नभएको जनाइएको छ ।
भीमदत्त नगरपालिका-१९, त्रिवेणी टोल बस्ने कलावती जोशीको एक तले कच्ची घर डुबानमा परेको छ । घरमा बसोबास गर्दै आएका पाँच जनाको परिवारसँगै पाँच वटा बाख्रा, दुई गाई र एक भैँसी विस्थापित भई नजिकैको सिद्धनाथ आधारभूत विद्यालयमा सारिएको छ । घटनास्थलमा प्रहरी चौकी बागफाँटाबाट टोली खटिएको छ ।
प्रतिक्रिया राख्नुहोस्