सिक्टा सिँचाइ आयोजनाको गुरुवागाउँ नहरमा पानी छाडिँदा ७ हजार हेक्टरमा सिँचाइ सुविधा

नेपालगञ्ज। राष्ट्रिय गौरबको सिक्टा सिँचाइ आयोजनाले पछिल्लो समय तीव्र गतिमा काम अघि बढाएको छ ।
बाँकेको ४३ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यका साथ निर्माणाधीन आयोजनाले पछिल्लोपटक पश्चिम मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न गरेर पानी छोडेको छ ।

बैजनाथ गाउँपालिका वडा नम्बर ५ मा निर्मित गुरुवागाउँ शाखा नहरमा आज पानी परीक्षण कार्य गरिएको छ । पानी परीक्षण कार्यको आयोजना प्रमुख राजु आचार्य, बैजनाथ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देब बहादुर रावत, वडा नम्बर ६ का अध्यक्ष भुपाल पुन मगर, सिक्टा सिँचाइ आयोजना जल उपभोक्ता समितिका अध्यक्ष शालिकराम डाँगी, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले संयुक्तरुपमा पानी छाडेर शुभारम्भ गर्नुभयो ।

भैरब-सुभानी जेभी काठमाडौँले तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी २०८० चैत १८ गते सम्झौता गरेकोमा सम्झौता अवधि अगावै काम सम्पन्न भएको छ । २०८३ चैत १७ गते सम्पन्न गर्नुपर्ने मिति हो । ३७ करोड ८२ लाख ८४ हजार ७ सय ३५ रुपैयाँमा ठेक्का गरिएको आयोजनाका इन्जिनियर विनेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार हालसम्म ९८ प्रतिशत भौतिक प्रगति भएको छ । अब केही सामान्य फिनिसिंगको काम मात्र बाँकी छ । कुल ११ किलोमिटर लामो यो नहरबाट ७ हजार ८१ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने इन्जिनियर श्रेष्ठले बताउनुभयो । गुरुवागाउँ नहरबाट एक लाख जनसङ्ख्या लाभान्वित हुनेछन् । नहरमा पानी छोडिएपछि किसान हर्षित भएका छन् । रोपाइँको समयमा किसानले पम्पसेट लगाएर धमाधाम पानी तानिरहेका छन् । अब यो नहरबाट प्रशाखा र उपशाखा निर्माण भएपछि किसानलाई अझ सहज हुनेछ ।

पश्चिम मूल नहरबाट ३३ हजार ७ सय ६६ हेक्टर जमिन सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ । आयोजना प्रमुख आचार्यले मुआब्जा दिएर नयाँ नहर बनाइएको बताउनुभयो । आचार्यले स्रोत साधन व्यवस्थित तरिकाले प्रभावकारीरुपमा परिचालन गर्न सके समय अगावै काम सकिने सन्देश यो नहर निर्माण कार्यले दिएको बताउनुभयो । अब यसपछि शाखा नहरको प्रशाखा र उपशाखा निर्माण गरिने आयोजनाका सिनियर डिभिजनल इन्जिनियर मनोज कुमार साहले जानकारी दिनुभयो । कार्यक्रममा आयोजनाका उपसचिव ९लेखा० तुकमान पुन मगर, आयोजनाका इन्जिनियरहरू, ठेकेदार कम्पनीका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति थियो । नहरमा पानी छोडिसकेपछि ११ किलोमिटर नहर क्षेत्रको अवलोकन समेत गरिएको थियो । स्थानीयको माग र सहजताका लागि बस्ती क्षेत्रमा नहर छेउ-छाउमा तारजाली लगाइएको छ भने कतिपय स्थानमा सिँढी समेत बनाइएको छ ।
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको हालसम्म करिब आधा काम पूरा भएको छ । आर्थिक बर्ष २०६२/६३ देखि सिक्टा सिँचाइ आयोजनाको काम सुरु भएको थियो । पहिलोपटक १२ अर्ब स्वीकृत भएर काम अघि बढेको उक्त गुरुयोजनामा राप्तीसोनारी-२ अगैयामा बाँध बनाउने र पश्चिम नहर निर्माण गर्ने कार्य योजना मात्रै थियो । बिस्तारै आयोजनाको कार्य क्षेत्र बढ्दै गयो । पूर्वी नहर पनि थपियो । राप्ती नदीबाट कमाण्ड एरियालाई जोगाउन नदी नियन्त्रणका कामहरू पनि थपिँदै गए । दोस्रो पटक २०७४ सालमा २५ अर्बको गुरुयोजना स्वीकृत भयो । पछिल्लो पटक फेरि २०७९ सालमा ५२ अर्बको गुरुयोजना स्वीकृत भएको छ । त्यसै अनुसार अहिले सिक्टा सिँचाइ आयोजनाले काम गरिरहेको आयोजना निर्देशक आचार्यले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्