तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशका जिल्लाहरूमा १० प्रतिशत मात्र धान रोपाइ

जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा पर्याप्त मात्रामा वर्षा नभएका कारणले यस पटक धानको रोपाई थोरै मात्रामा हुन सकेपछि किसानहरु चिन्तित बनेका छन् । 

असारको १५ बित्न लाग्दा पनि यस पटक वर्षा नभएपछि किसानहरुले धानको रोपाई गर्न नपाएको गुनासो गर्नु भएको हो । अहिलेसम्म मधेश प्रदेशका जिल्लाहरूमा १० प्रतिशतले मात्र धानको रोपाई भएको मधेश प्रदेशका कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवले जानकारी दिनु भएको हो । 

सबैभन्दा बढी धानको रोपाई बारा जिल्लामा भएको छ । बारामा १५ प्रतिशतले रोपाई भएको छ भने सबै भन्दा कम सिरहा तथा सप्तरी जिल्लामा ५ प्रतिशतले भएको कृषि विकास निर्देशनालयका निर्देशक यादवले जानकारी दिनु भएको हो । 

मधेश प्रदेशका ८ जिल्लामा ३ लाख ५३ हजार ४ सय ४१ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । अहिले पनि धेरै किसानहरु आकाशे खेतीमा निर्भर भएका कारणले असारको १५ वित्दा पनि धानको रोपाई निक्कै थोरै मात्रामा गर्न सकेको छ । 

मधेश प्रदेशका मूल खाद्यान्न बालीको रुपमा रहेको धानको उत्पादन बढाउनका लागि खेलमा सिँचाई, किसानको हातमा उन्नत बीउ तथा मल भएको खण्डमा मनग्य उत्पादन गर्न सकिने जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले जानकारी दिनु भएको हो । 

धान उत्पादनका लागि तीन महिनासम्म किसानको खेतमा सिँचाई सुविधा पुगेको खण्डमा धानको उत्पादनमा कुनै सकस नहुने जनकपुरधामको वडा नंं ८ बाल्मिकीनगरका किसान रामदेव यादवले जानकारी दिनु भएको हो । 

मधेश प्रदेशका जिल्लाहरूमा सबै भन्दा बढी क्षेत्रफलमा धान धनुषा जिल्लामा हुने गरेको छ । धनुषा जिल्लामा ५४ हजार ८ सय ८० हेक्टर, सप्तरीमा ५० हजार २ सय २५ हेक्टरमा धानको रोपाई हुने गरेको छ । सबै भन्दा कम महोत्तरी जिल्लामा हुने गरेको छ । महोत्तरीमा ३३ हजार ६ सय ९६ हेक्टरमा धानको रोपाई हुने गरेको छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button